ललितपुर उद्योग वाणिज्य संघले जिल्ला स्थित सहकारी संस्थाहरुको उत्थानका लागि तिनीहरुका आवश्यकता एवं समस्याहरु पहिल्याउने उद्देश्यका साथ लउवा संघको वित्तिय तथा सहकारी समन्वयन समितिको सक्रियतामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
जिल्ला सहकारी संघ ललितपुर, बहुउद्देश्यीय सहकारी संघ, बचत तथा ऋण सहकारी संघका अध्यक्ष र राष्ट्रिय सहकारी बैंकका प्रबन्धक समेतको उपस्थितिमा संघसंग आवद्ध करिव ५० वटा सहकारी सदस्यहरुसंग संघले अन्तरक्रियाको आयोजना गरेको हो ।
लउवा संघका अध्यक्ष सबिन श्रेष्ठको सभापतित्वमा संचालन भएको यस अन्तरक्रिया कार्यक्रममा डिभिजन सहकारी कार्यालय ललितपुरका वरिष्ठ अधिकृत बलराम निरौला विशेष अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष, वचत तथा ऋण सहकारी संघका अध्यक्ष र राष्ट्रिय सहकारी बैंकका प्रबन्धकहरुबाट कार्यपत्र प्रस्तुत गरिएको यस कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या र समस्या समाधानका लागि अपनाउनु पर्ने नीति नियमका बारेमा जानकारी गराइएको थियो ।
‘एकको लागि सबै, सबैको लागि एक’ भन्ने मूल उद्देश्यका साथ संचालन गरिने यस सहकारी संस्थाहरुमा ५० प्रतिशत भन्दा बढी महिलाहरु सहभागी रहेको पाइन्छ । सरकारी सेवा पछिको सबै भन्दा बढिलाई रोजगारी प्रदान गरिएको यस सहकारी क्षेत्रमा समग्र रुपमा सबै सहकारीमा देखा पर्ने समस्या भनेकै सहकारीमा आवद्ध पदाधिकारीहरुमा सहकारी शिक्षाको अभाव, संस्था संचालनमा सुशासन कायम नहुनु, शिपमूलक र दक्ष कर्मचारी नहुनु, ऋण लगानीमा जोखिम मुल्यांकन पद्धतिको अभाव हुनु, तरलता व्यवस्थापन गर्न नसक्नु र शेयर बजारमा सुचिकृत नहुने रहेको देखिन्छ ।
कार्यक्रमको दौरानमा अगाडि आएका समस्याहरुको निराकरणका लागि आगामी दिनहरुमा संघले सरकारको तीन खम्बे अर्थनीति अनुरुप जिल्लाको आर्थिक विकास एवं व्यावसायिक वातावरण सुदृढ गर्नका लागि जिल्ला स्थित सहाकारी संघ, वचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसंग संमन्वयात्मक भूमिका खेल्ने बताउंदै संघका अध्यक्ष सबिन श्रेष्ठले कुनै पनि सहकारीसंग सम्बन्धीत संघहरु तथा सहकारी संस्थाहरुसंग निजी क्षेत्रबाट सहकार्य एवं समन्वयको उद्देश्य राखि गरिएको यस कार्यक्रम सम्भवत देशकै लागि नौलो थालनी एवं उत्कृष्ट प्रयास हन सक्ने बताउनु भयो । यसका लागि उहाँले सम्बन्धित सबै पक्षहरुबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
संघका महासचिव भरतलाल जोशीद्वारा संचालित यस कार्यक्रममा समितिका संयोजक निर्मिता शाक्यले कार्यक्रम आयोजना गर्नुका उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको अत्यमा सहसंयोजक लजना श्रेष्ठले कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।