ई–आर्थिक, काठमाडौं । सरकारले काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्रीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागले मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने बारेमा सिफारिस गरेको हो ।
सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिस्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अनुरोध गरेको छ।
बचतकर्ताले रकम फिर्ता नपाएको उजुरीपछि सहकारी विभागले २०७९ साउन १९ गते उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफरिस गरेको थियो। उक्त सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताले १ अर्ब ७५ करोडको माग दाबीसहित विभागमा उजुरी दिएका थिए।
चालु आर्थिक वर्षमा मात्रै ८ वटा सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । पछिल्लो पटक फागुन २९ गते श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको थियो ।
फागुन ४ गते कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थालाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । माघमा दुईवटा सहकारीलाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो ।
माघ ११ मा हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र माघ २८ मा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
यस्तै भदौ २५ मा मन्त्रालयले शिवशिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको थियो ।
साउन १ गते पशुपति सेभिङ एण्ड क्रेडिटको अपरेटिभ सहकारीलाई सरकारले समस्याग्रस्तको सूचीमा राखेको थियो ।
यो सँगै हालसम्म समस्याग्रस्त घोषणा भएको सहकारीको संख्या २० पुगेको छ ।
