२०८३ साउन ९ शनिबार

बेल्टारमा अतिक्रमण रोक्न बाँध भत्काइयो

ई आर्थिक    बिहिबार, माघ ६ २०७३
4.4K
Shares
बेल्टारमा अतिक्रमण रोक्न बाँध भत्काइयो

६ माघ, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकास्थित वडा नम्बर २ को द्वारखोलामा निर्माण गरेको बाँध हालै स्थानीय प्रशासनले भत्काई दिएको छ । द्वारखोला आसपासमा स्थानीय जग्गा अतिक्रमणकर्ताले नदी क्षेत्रको जग्गा अतिक्रमण गर्न उक्त बाँध बनाएको थियो।

बेल्टारको द्वारखोला क्षेत्रको तीनसय मिटर क्षेत्रसम्म चौडाइका रुपमा फैलिएको क्षेत्रमा स्थानीय जग्गा अतिक्रमणकर्ताले नदीमा बाँध बाँधेर नदीको भाग ५० मिटर मात्र राखेर अन्य भाग कब्जा गर्दै आएका थिए । केही व्यक्तिले नदी क्षेत्रको जग्गा अतिक्रमण गर्न यस्तो कार्य गरेको कारण स्थानीय नागरिक मञ्च र प्रशासनले नै जग्गा अतिक्रमण रोक्न नदीमा मनपरी ढङ्गबाट निर्माण गरिएका बाँध भत्काइएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीले बताउनुभएको छ ।

जग्गा अतिक्रमणकर्ताले नदी क्षेत्रको पचासौँ बिगाहा जग्गा यसरी नियन्त्रण गरेर आफ्नो पकडमा पार्ने योजना हुँदै आएका कारण पनि मनपरी निर्माण गरिएका बाँध डोजर लगाएर हटाइएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

उक्त नदी क्षेत्रको अतिक्रमण गरिएका जग्गाको मूल्य बिसौँ करोडभन्दा पनि बढी रहेका कारण मनपरी जग्गा हडप्ने कार्य अन्त्य गर्न बाँध भत्काउन परेको वडा नागरिक मञ्चका संयोजक कमल राईले बताउनुभयो ।

स्थानीय भूमाफियाले नदी क्षेत्रको ठूलो आकारको जग्गा अतिक्रमण गर्न थालेपछि बेल्टार क्षेत्रमा ठूलै हलचल मच्चिएको थियो । जिल्ला प्रशासन कार्यालय उदयपुरमा जग्गा अतिक्रमण रोक्न निवेदनसमेत परेको थियो । प्रशासनकै आदेशमा उक्त बाँध हटाइएको कुरा बेल्टार प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij