२०८३ साउन १७ आइतबार

भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने, अलग्गै लेन तयार

ई आर्थिक    मंगलबार, असोज २ २०८०
11.6K
Shares
भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने, अलग्गै लेन तयार

ई–आर्थिक, काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर असोज ३ गते अर्थात् बुधबारदेखि सो बस सेवा सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि अलग्गै लेन तयार गरिएको छ ।

उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्यमा पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तत्कालका लागि द्रुत बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालन हुनेछन् ।

द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको रङ नै फरक हुनेछ । द्रुत बस सेवाको सडक लेन बनाइएको छ । यातायात मन्त्री प्रकाश ज्वालाले सडक विभागलाई बसको आकार प्रकार, सफाइ तथा रोड पर्मिटको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशन अनुसार विभागले द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन बनाएको हो ।

यसैगरी पहिलो चरणमा द्रुत बस सेवा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ । अत्यधिक जामको बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ भने द्रुत बस सेवा सञ्चालन भएपछि जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिनेछ । द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij