५ माघ, काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आजबाट राजधानीमा शुरु भएको छ । करिब २७ वर्षपछि काठमाडौंको होटल ह्यात रेजेन्सीमा भएको सो सम्मेलन तीन दिनसम्म चल्नेछ।
सो सम्मेलनमा नेपालबाहेक ५२ मुलुकका इन्टरपोल प्रमुखहरुको सहभागीता रहने नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विज्ञानराज शर्माले बताउनुभयो। उहाकाअनुसार सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरू, अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा छलफल हुनेछ ।
कुन–कुन संस्था सहभागी ?
सम्मेलनमा विश्व भन्सार संघसँग सम्बन्धित प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागू औषध नियन्त्रण कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, अन्तर्राष्ट्रिय आप्रवासी संगठनका प्रतिनिधि, आसियानका सचिवालय प्रतिनिधि, सार्क सचिवालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोगका प्रतिनिधि, अरवियन मन्त्री परिषद्का सदस्यले भाग लिँदै छन् । यसैगरी गल्फ तथा अरब राष्ट्रका प्रतिनिधि, आर्थीका समन्वय संगठनका प्रतिनिधि, इक्याप्ट इन्टरनेसनलका प्रतिनिधि, राष्ट्रिय परिधिभित्र रहेको अपराध अनुसन्धान गर्ने अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि, एसियन महाद्वीपका प्रहरी प्रमुख, प्यासिफिक ट्रान्सनेसन क्राइम कोअर्डिनेसनका प्रतिनिधि, एसियन क्षेत्रीय इन्फरमेसन सेन्टरका प्रतिनिधि, विश्व प्रतिआतंकवाद संस्थाका प्रतिनिधि समेत सम्मेलनमा देखिने छन ।
मुख्य एजेन्डाहरू
सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डाहरू इन्टरपोलका महासचिवले तय गरी नेपालमा पठाउनेछन् । आतंकवाद अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, पर्यावरणीय अपराध, संगठित अपराधजस्ता दर्जनौं अपराध नियन्त्रणका लागि पहलकदमी लिने संगठन भएकाले अहिले देखिएको मुख्य समस्यासँग पनि इन्टरपोलले नेपालमा हुने सम्मेलनमा छलफल गर्ने भएको छ । सम्मेलनमा भाग लिन एसिया महादेशबाहेक अमेरिका र फ्रान्सका प्रहरी प्रमुख पनि नेपाल आउनेछन् । १ सय ९० देशका प्रहरी संगठनहरू सदस्य रहेको इन्टरपोलको वार्षिक बजेट ७८ लाख डलर रहेको छ ।
सम्मेलन सकिएपछि इन्टरपोल मुख्यालय फ्रान्सबाट नेपाल प्रहरी त्यसले गरेका काम कारबाहीको अनुगमनका लागि ४ अप्रिल २०१७ मा नेपाल आउने कार्यक्रम रहेको छ ।