५ माघ, काठमाडौं । गत सोमबारदेखि नेपाली बजारमा छापावाल सुन दुईथरी मूल्य कायम गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मूल्य निर्धारण गरिदिएको हो।
हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार भइरहेको भएपनि अब एनआइसी बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकोले फरकफरक मूल्य निर्धारण गर्नुपरेको महासंघले जानाएको छ। ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको मात्र गुणस्तर फरक भएको महासंघले जानाएको छ।
दुईथरी मूल्य निर्धारण गरेपछि सोमबार ९९ दशमलव ५० प्रतिशतको सुन तोलामा ५५ हजार रुपैयाँमा कारोबार भएको थियो। यो मुल्य अघिल्लो दिनकोभन्दा तीन सय रुपैयाँले बढी हो। यस्तै सोमबारदेखि लागू भएको ९९ दशमलव ९९ प्रतिशतको सुनको मुल्य ५५ हजार दुई सय रुपैयाँ तोकिएको थियो ।