२०८३ साउन ९ शनिबार

जीवन बीमामा बिग मर्जर : प्राइम, गुराँस र युनियन लाइफ मर्ज हुने

ई आर्थिक    शुक्रबार, बैशाख ३० २०७९
6.9K
Shares
जीवन बीमामा बिग मर्जर : प्राइम, गुराँस र युनियन लाइफ मर्ज हुने

काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्ज हुने भएका छन् । बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेका बेला यी तीन कम्पनीले मर्जरमा जाने निर्णय गरेका हुन् ।

बिहीवार तीन कम्पनीबीच मर्जरमा जाने विषयमा सैद्धान्तिक समझदारी भएको छ । बिहीवार काठमाडौंमा विशेष समारोहबीच प्राइमका अध्यक्ष पीयूषराज अर्याल, गुराँसका अध्यक्ष विवेक दुगड र युनियनका अध्यक्ष सुलभ अग्रवालले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जीवन बीमा क्षेत्रमा यो पहिलो र ठूलो मर्जर सम्झौता हो । निर्जीवनतर्फ केही दिन पहिला हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्ज हुने सम्झौता भएको थियो । अहिले आएर जीवन बीमा क्षेत्रमा पनि मर्जर अभ्यास प्रारम्भ भएको हो ।

हाल उक्त तीन कम्पनी मर्ज हुने सम्बन्धमा सैद्धान्तिक सहमति मात्र भएको हो । अब बीमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि थप प्रक्रिया अगाडि बढ्ने प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ)े मनोजकुमार भट्टराईले बताए ।

‘अहिले तीन कम्पनी आपसमा मर्ज हुने भनेर सहमति मात्र भएको हो । कम्पनीको नाम के राख्ने ? कर्मचारी कसरी व्यवस्थापन गर्ने ? लगायत विषयमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने, ‘स्वाप रेसियो भने सम्पत्ति दायित्व मूल्यांकन भएपछि टुंगो लाग्नेछ ।’

जीवन बीमाक्षेत्रमा यो मर्जर एक कोसेढुंगा सावित हुने उनले बताए । ‘अब हामी यो मर्जरलाई सफल बनाएर एउटा बलियो जीवन बीमा कम्पनीका रूपमा उदाउँछौं,’ उनले भने । यस्तै, युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले पनि यो सम्झौता ऐतिहासिक भएको बताए । यसले बीमित, प्रमोटर तथा शेयरधनीलगायत समग्र सरोकारवालालाई समेत फाइदा गर्ने उनको भनाइ छ ।

‘यति, मात्र होइन, यो मर्जरले समग्र बीमा बजारलाई समेत फाइदा पुर्‍याउँछ । वास्तवमा नेपालमा बीमा कम्पनीको संख्या धेरै छ । यो अवस्थामा एकैपटक तीन कम्पनी मर्ज हुनु बीमा बजारका लागि पनि राम्रो हो,’ उनले भने, ‘समग्रमा तीन जीवन बीमा कम्पनी मिलेर पहिलो कम्पनी बन्ने गरी अगाडि बढेका छौं ।’
यी ३ कम्पनीले यति समयभित्र एकीकृत कारोबार गर्ने भनेर लक्ष्य राखेका छैनन् । यद्यपि सकेसम्म छिटो मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्ने उनीहरूको भनाइ छ । समितिबाट सैद्धान्तिक स्वीकृत पाएपछि मर्जर कमिटी बन्नेछ । त्यसपछि सोही समितिले नै कम्पनीको नाम, कर्मचारी व्यवस्थापन, सम्पत्ति मूल्यांकन तथा स्वाप रेसियोलगायत विषय टुंगो लगाउनेछ । त्यसपछि एकीकृत कारोबार गर्ने बताइएको छ ।

मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख रुपैयाँको हुनेछ । हाल प्राइमको २ अर्ब ७७ करोड ९६ लाख, युनियनको २ अर्ब १५ करोड र गुराँसको २ अर्ब ८ करोड ४२ लाख चुक्तापूँजी छ । मर्जपछि त्यो ७ अर्ब भन्दा बढी हुनेछ ।

बीमा कोषको आकार भने ४० अर्बभन्दा माथि पुग्ने छ । अहिले प्राइमको १७ अर्ब ६३ करोड, युनियनको १० अर्ब ३३ करोड गुराँसको १२ अर्ब ६ करोड बराबरको बीमा कोष छ । मर्ज भएपछि त्यसको आकार ४० अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ ।

बीमा समितिले १ महीनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापूँजी हुनुपर्ने व्यवस्था छ । आगामी चैत मसान्तभित्र चुक्ता पूँजीको न्यूनतम सीमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने समितिको निर्देशन छ ।

चुक्ता पूँजी बढाउने नाममा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिनु नै समितिको मनसाय छ । सोही सन्दर्भमा यी तीन जीवन कम्पनी मर्जर जाने सम्झौता गरेका हुन् । मर्जर सम्झौता भएसँगै आगामी सातादेखि यी तीन कम्पनीको शेयर कारोबार पनि रोक्का हुने समाचार मिलन विश्वकर्माले आजको आर्थिक अभियानमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij