१२ वैशाख, काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ सार्वजनिक भएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालको पर्यटनका वारेमा जानकारी दिन र एप मार्फत मुलुकको पर्यटन पर्वद्धन गर्न एप संचालनमा ल्याइएको बोर्डले जनाएको छ ।
यो मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको बोर्डले जनाएको छ । हाल एन्ड्रोइड ओएसमा मात्र उपलब्ध यो एप चाँडै नै आइओएस प्लेटफर्ममा गरिने बताइएको छ ।
बोर्डका अनुसार एक पटक एप डाउनलोड गरिसके पछि इन्टरनेट बिना पनि यसको प्रयोग गर्न सकिन्छ । मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुट, लगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ।
प्रमुख गन्तव्यहरुको विशेषता, त्यहाँको सेवा सुविधा तथा आउने जाने र बस्ने व्यवस्थाको बारेमा पनि जानकारी दिइएको छ। त्यस्तै विदेशी पर्यटकहरुको लागि नेपालमा कहाँ घुम्न केकस्तो अनुमति लिनुपर्छ भनेर पनि एपमै राखिएको छ।