२०८३ साउन १६ शनिबार

एमालेमा एक ब्यक्ति, एक पद : भीम रावल, अष्टलक्ष्मी र भीम आचार्यबाट सुरुवात गर्ने केपी ओलीको तयारी

ई आर्थिक    शुक्रबार, असोज १ २०७८
21.7K
Shares
एमालेमा एक ब्यक्ति, एक पद : भीम रावल, अष्टलक्ष्मी र भीम आचार्यबाट सुरुवात गर्ने केपी ओलीको तयारी

रोचक के छ भने पार्टीभित्र लामो समयदेखि यो नीतिको पक्षमा अन्तरसंघर्ष गरेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र भीम आचार्यबाटै यसलाई कार्यान्वयन गरिदै छ ।

ई–आर्थिक, काठमाडौं । नेकपा एमालेभित्र ‘एक ब्यक्ति, एक पद’ नीति कार्यान्वयनको तयारी थालिएको छ । एउटै ब्यक्तिलाई पार्टीको उच्च पद र महत्वपूर्ण राजकीय पद गरी दोहोरो जिम्मेवारी नदिन ‘एक ब्यक्ति, एक पद’ नीतिलाई कार्यान्वयन गर्न लागिएको हो ।

रोचक के छ भने पार्टीभित्र लामो समयदेखि यो नीतिको पक्षमा अन्तरसंघर्ष गरेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र भीम आचार्यबाटै यसलाई कार्यान्वयन गरिदै छ । शाक्य र आचार्य मुख्यमन्त्रीसमेत रहेका छन् । उनीहरुलाई पार्टीको ईन्चार्जको जिम्मेवारीबाट हटाएर एमालेमा यो नीति कार्यान्वयन गरिने एमाले सुदूरपश्चिमका एक प्रभाबशाली नेता बताउँछन् । ‘पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण दोस्रो बरियताको उपाध्यक्ष पदमा रहेका नेताहरु र मुख्यमन्त्री भएका नेता अब इन्चार्ज हुनुहुन्न । त्यसैले भीम रावल, अष्टलक्ष्मी र भीम आचार्य अब पार्टीको ईन्चार्ज बन्नुहुन्न ।’ उनी भन्छन् ‘यो त उहाँहरुकै माग हो नि ।’

तर तर यसको कार्यान्वयन गर्दा दस्ताबेजमा लिखत र सार्बजनिकरुपमा भने घोषणा गरिने छैन । सुरुमा पार्टीभित्र यो नीतिको माग गर्ने नेता माधब नेपाल भएको हुदा उनले उठाएको मुद्धा सही थियो भन्ने सन्देश जान नदिन गुपचुपरुपमा यो नीति कार्यान्वयन गर्न लागिएको हो । ‘एक ब्यक्ति, एक पद’ नीति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओली नै अघि सरेर गृहकार्यमा जुटेको स्रोतले जानकारी दियो । अध्यक्ष ओलीकै यस्तो चाहना भएकाले यो तत्कार्ल कार्यान्वयनमा जाने उनको भनाई छ ।

नेकपा एमालेभित्र यो नीति लागू गर्न बरिष्ठ नेता माधब नेपालले लामो समयसम्म अन्तरसंघर्ष गरेका थिए । उनी हाल एमालेबाट बिद्रोह गरेर अर्कै पार्टी खोलिसकेका छन् । नेता नेपालको यो माग सम्बोधन भएको भए एमाले बिभाजनको अबस्थासम्म नपुग्ने धेरैको भनाई छ ।

नेता नेपालको समूहमा रहेर उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिबहरु भीम आचार्य, गोकर्ण बिष्टलगायतका नेताहरुले पार्टीभित्र यो नीतिको अत्यन्त धेरै पैरबी गरेका थिए । यो नीति खासमा पार्टीको उपल्लो पद र राजकीय कार्यकारी पद एक ब्यक्तिमा सीमित गर्न नहुनेसँग सम्बन्धित थियो । त्यसैले नेता रावल, शाक्य र आचार्यहरुले माधब नेपालको समूहमा रहेर अध्यक्ष ओलीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद रोज्न चर्को दबाब दिएका थिए । यो मुद्धामा पार्टीभित्र निकै ठूलो र शत्रुतापूर्ण धु्रबीकरण भयो । अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओली यही मुद्धाका कारण गम्भीर संकटमा परेका थिए । तर ओलीले दुबै पदबाट नहट्ने भन्दै संकटको सामना गरे । ओलीको यस अडानलाई रावल, शाक्य, आचार्यजस्ता प्रभाबशाली नेताहरुले पदलोलुप, अहंकारी, अधिनायकबादी र स्वेच्छाचारीजस्ता शब्दले गाली गर्थे ।

पार्टी बिभाजनपछि माधब नेपालको समूहमा रहेर यस नीतिको भयंकर वकालत गर्नेहरु अहिले एमालेमै रहेका छन् । पार्टी जेठ २ मा फर्केपछि उनीहरु कोही उपाध्यक्षसहित साँसद, कोही महासचिबसहित साँसद र कोही पदाधिकारीसहित साँसद छन् । त्यति मात्र होइन अष्टलक्ष्मी शाक्य र भीम आचार्य त मुख्यमन्त्री नै बनेका छन् । यसरी पार्टीको उच्च तहमा रहेका साँसदहरुलाई अरु जिम्मेवारी नदिएर ‘एक ब्यक्ति, एक पद’ नीति कार्यान्वयनका लागि अध्यक्ष ओलीले सक्रियता देखाएका छन् । यसअन्तर्गत भीम रावल, अष्टलक्ष्मी र भीम रावललाई अब प्रदेश ईन्चार्जको जिम्मेवारीबाट हटाइने छ ।

एमाले जेठ २ मा फर्कदा रावल सुदूरपश्चिम, अष्टलक्ष्मी बागमती र भीम आचार्य १ नम्बरको प्रदेशको पार्टी इन्चार्ज हुनेछन् । पार्टीभित्र अन्तरसंघर्ष चलिरहेका बेला अध्यक्ष ओलीले यि प्रदेशमा इन्चार्ज हेरफेर गरेका थिए । तर जेठ २ मा फर्केपछि ईन्चार्जको जिम्मेवारी पनि पाउनुपर्नेमा रावल, शाक्य र आचार्यको जोड रहेको छ । तर अध्यक्ष ओलीले ‘एक ब्यक्ति, एक पद’ कार्यान्वयन गर्नैका लागि उनीहरुको कुराको सुनुवाई गरेका छैनन् । अध्यक्षनिकट नेताहरुले जेठ २ सिर्जनात्मकढंगले कार्यान्वयन गर्ने भनेर यही कुरालाई बारम्बार संकेत गरिरहेका छन् ।

पार्टीलाई जेठ २ मा फर्काएर तल्ला कमिटीहरुमा पुरानै जिम्मेवारीमा बहाल गरिए पनि माथिल्ला पदहरुका नेताहरुमा भने दोहोरो जिम्मेवारी नदिने अडानमा अध्यक्ष ओली देखिएका छन् । यसै कारण सुदूरपश्चिममा रावल, बागमतीमा शाक्य र १ नम्बर प्रदेशमा आचार्यले पार्टीको इन्चार्जको जिम्मेवारीमा फर्कन सकेका छैनन् । ओलीले सुदूरपश्चिममा लेखराज भट्ट र बागमतीमा बादललाई इन्चार्जको रुपमा काम गर्न मौखिक आदेश दिइसकका छन् । यसमा उपाध्यक्षद्वय रावल र शाक्यले गम्भीर असहमति जाहेर गरिसकेका छन् । तर अध्यक्ष ओली यसको सुनुवाई गर्ने पक्षमा छैनन् ।

अध्यक्ष ओलीले आफूनिकट नेताहरुसँग भीम रावल, अष्टलक्ष्मी र भीम आचार्यहरुको केही महिनाअघिसम्मको माग ‘एक ब्यक्ति, एक पद’ भएकाले आफूले त्यसलाई कार्यान्वयन गरिदिने बताउने गरेका छन् । ‘उहाँहरु नै हो, कार्यकारी दुई पद एउटै ब्यक्तिलाई दिनुहुदैन भन्ने । उपाध्यक्ष, साँसद, मुख्यमन्त्री रहेको ब्यक्तिलाई ईन्चार्ज दिने कुरा पनि दोहोरो जिम्मेवारीभित्र नै पर्छ ।’ अध्यक्ष ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो ‘उहाँकै मागलाई कार्यान्वयन गर्दा अब आपत्ति मान्नुपर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij