ई–आर्थिक, काठमाडौं । यात्रु उद्दार र सस्तोका लागि उडान संख्या थप्न निजी बायुसेवा सञ्चालक संघले माग गरेका छन् । संघले एक विज्ञप्ती जारी गर्दै आन्तरिक हवाई उडान संख्या थप गर्न माग गरेका हुन ।
अविरल वर्षाले सडकका विभिन्न ठाउँमा क्षति पु–याएको, केही डाइभर्सन बगाएको, पहिरो र पुलमा क्षति पुगेकाले सर्वसाधारण यात्रुलाई यात्रामा असहज भएको भन्दै उडान संख्या थप गरी आगमन सहन गर्न वायुसेवा सञ्चलक संघका अध्यक्ष रामेश्वर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग उक्त माग गरिएको हो ।
‘हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने देखिन्छ । उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरूले धान्नै नसकिने देखिन्छ । उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ,’ विज्ञप्तिमा भनिएको छ ।
निषेधाज्ञा अगाडि झण्डै दैनिक १५ हजार हवाई यात्रुले ओहोरदोहोर गरेको र जस्को मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान नै भएको संघको भनाई छ ।
‘हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि पुष्टि गरेको छ । हामी संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिकाको कडिकडाउका साथ पालना गरेका छौं,’ संघले भनेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि मास्कको प्रयोगबाट करोना नसर्ने पुष्टि गरेको छ । ह्याण्ड सेनिटाइजर, मास्क र फेससिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको संक्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको जनाएको छ । यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलिने तरिकाले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौं । सहज र सस्तो उडानका लागि निषेधाज्ञा अगाडिकै अवस्थावाट उडान संख्या बढाइदिन पनि संघले माग गरेको विज्ञप्तीमा उल्लेख छ ।