२०८३ साउन १७ आइतबार

भारत जानेको लर्को

ई आर्थिक    आइतबार, असार २० २०७८
5.1K
Shares
भारत जानेको लर्को

नेपाल–भारत सीमा नाका गौरीफन्टा भएर भारत जान लागेका नेपालीको लर्को । तस्बिर : शिवराज भट्ट

धनगढी : भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए। उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो। घरमा नुनतेलको खर्चका लागि पनि समस्यामा परेका उनले पसल गरे। तर, निषेधाज्ञाका कारण पसल चलेन। उनी फेरि भारततिर हिँडेका छन्।

‘पसल गरेँ। बन्दले चलेन। अरू मजदुरी केही पाइनँ’, गौरीफन्टा सीमा नाकामा लाम लागेको अवस्थामा भेटिएका थापाले भने, ‘परिवार पाल्न भारत जानुको विकल्प देखिनँ। गरिबले भारतबाहेक काँ जाने त ? विदेश (तेस्रो मुलुक) जान लाखौं खर्च हुँदैन। टिकट काटेपछि भारत जान सजिलो। त्यसैले आज भारत जान लागेको।’

कैलालीको लम्कीचुहा नगरपालिका मोतीनगरका गणेश बडुवाल पनि शुक्रबार भारत पसेका छन्। मुम्बईमा काम गर्ने बडुवालले भने, ‘घरदेश छोड्न कसलाई राम्रो लाग्ला र ? तर, केही रोजगारी पाइँदैन, के गर्नु ? भारत जानुको विकल्प छैन।’

बडुवाललाई भारतमा अझै कोरोनाको कहर यथावत् रहेको थाहा छ। दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भइरहेको समाचारमा सुनेको उनले बताए। ‘तर, त्यहाँ मालिकले खोप लगाएपछि कोरोना लाग्दैन। लागे पनि अस्पताल भर्ना हुनुपर्दैन भने’, उनले भने, ‘त्यसैमा हाम्रो देशमा खोप पनि पाइँदैन, मालिकले बोलाएकाले जान थालेको हुँ।’

कोरोना महामारी ओर्लिएपछि भारतले फेरि सहरहरू खुल्न थालेका छन्। सार्वजनिक यातायात र रेल सेवा सञ्चालनमा आएका छन्। ‘दुई महिना भयो घर आएको। दुई महिनामै बालबालिकालाई के खाऊँ, के लाऊँ भइँसक्यो। भारत नजानुको विकल्प पनि त छैन नि’, कैलालीको लम्कीचुहा–४ का रामबहादुर विष्टले भने, ‘नेपालमा मजदुरीसम्म पनि पाइएन। कतै विद्यालय भवन, कतै सडक बन्दा र काम पाउला भनेर खोजेको तर सबै काम डोजरले गरिसक्यो भन्छन्। त्यसैले केही सीप नलागेपछि भारत हिँडेको।’

भारतको गुजरातमा होटलमा काम गर्ने उनलाई नेपालका अशिक्षत वा कम शिक्षा भएका युवाहरूको भविष्यको चिन्ता रहेछ। ‘सरकारले दिने काममा त उनकै पार्टीका नेता कार्यकर्ताका छोराछोरीका लागि ठिक्क हुन्छ। हामीले त भारत जानुको अरू कुनै उपाय नै छैन’, गौरीफन्टा नाकामा असिनपसिन भएर लाम लागेका विष्टले भने।

धनगढीको विशालनगरका दीपक सिंह भारतको राजधानी नयाँदिल्लीबाट निषेधाज्ञाकै बेला घर फर्किएका थिए। तर, सिंहलाई दुई महिनाको घरभित्रको बसाइ उराठ लाग्यो। ‘काम केही छैन। कमाएर ल्याएको थोरै रकम पनि सकियो। धनगढी पूरै बन्द थियो। कामधाम के पाउनु ? उदेक लागेर आयो’, सिंहले भने, ‘अहिले बजार त खुलेको छ। तर काम माग्न गयो भने ब्यापारै छैन भन्छन्। त्यसैले सेट (मालिक)ले बोलायो अनी जान थालेको।’

उनी दिल्लीको एक कम्पनीमा वाचमेनको जागिर गर्छन्। ‘मालिकले खातामा गाडी भाडा र खर्चपानी हालिदियो अनि अहिले उतै जान लागेको’, उनले भने, ‘नेपालमा केही काम नपाएपछि के गर्ने ?’

कर्णाली प्रदेशको दैलेख दुल्लु नारायण नगरपालिका–९ का गंगाकुमार उपाध्याय पनि आफ्ना गाउँका धेरै युवासहित नाकामा लाम लागेका भेटिए। घरबाट हिँड्दा लगाइदिएको रातो टीका उनीहरूको निधारमा अलिअलि मात्रै देखिन्थ्यो। ‘भारतमा स्याउ टिप्न जाने हो। दुई महिनामा दशैंको खर्च निस्कन्छ’, उपाध्यायले भने, ‘यता बसेर के गर्नु ? पहाडमा खेतीपाती पनि सकियो। यता दशैंका लागि खर्च जुटाउने कुनै काम पाउँदैन।’

कोरोना महामारी नरोकिए पनि रोजगारीका लागि भारत जान सीमा नाका कैलालीको गौरीफन्टामा लाम लागेका नेपाली (माथि) र त्यही भीडमा काखे बालकसहित भारत जाँदै गरेकी महिला (दायाँ) । तस्बिर : शिवराज भट्ट

उनलाई भारतमा कोरोनाको अझै जोखिम रहेको थाहा छ। ‘तर यता घरमा बसेर पनि त केही गर्न सकिँदैन। डर भए पनि जानुपर्‍यो,’ उनले भने, ‘त्यहाँ मालिकले खोप लगाएर काम गर्न भनेकाले पनि केही साहस आएको छ।’

भारत सरकारले अहिले आफ्ना नागरिकलाई खोप लगाउन आह्वान गरिरहेको छ। त्यहाँ एकै दिन २५ लाखलाई खोप लगाइन थालिएको छ। भारतको सर्वोच्च अदालतले आफ्नो देशमा उत्पादन भएको खोप बाहिर बिक्री नगर्न निर्देशन जारी गरेको छ। भारतमा काम गर्ने नेपालीले पनि त्यहाँको कुनै न कुनै परिचयपत्रका आधारमा खोप पाउन थालेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको चौकुनेका जीवन साउद पनि साथीहरूसहित भारतको पुनातिर लागेका छन्। उनीहरू पुनामा लकडाउन भएपछि घर फर्किएका थिए। ‘अहिले सातामा दुई दिन बन्द हुन्छ। पाँच दिन काम हुन्छ भनेर मालिकले बोलाएकाले जान थालेका हौं’, साउदले भने। उनले पुनामा कोरोना महामारी कम भइसकेको भन्दै मालिकले खबर गरेको सुनाए।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको तथ्यांकअनुसार असार पहिलो सातादेखि भारत जाने नेपालीको संख्या बढेको हो। भारतबाट नेपाल आउनेको संख्याको तीन गुणा नेपाली भारत जान थालेका छन्। शुक्रबार मात्रै भारतबाट ४३८ जना स्वदेश फर्के भने १५ सय ४ जना भारत पसेका छन्।

असार १ गतेदेखि १८ गतेसम्मको तथ्यांकअनुसार भारतबाट नेपाल फर्किने ७ हजार ७ सय ४४ जना रहेकोमा त्यसको तीन गुणाले बढी २२ हजार ३७ जना गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत पसेका छन्। नेपालतिर खेतीपातीको काम सकिएको र भारतमा कोरोनाको पनि जोखिम कम भएको खबर आउन थालेपछि नेपालीहरू भारत जान थालेका हुन्।

अहिले कोरोनाको तेस्रो लहर फैलिन सक्ने प्रक्षेपण भइरहेको छ। यही समयमा नेपालबाट दैनिक नेपालीहरू भारत पस्न थालेका छन्। अझ सुदूरपश्चिमको गौरा पर्व र बडादशैंका बेला यी सबै नेपाली हुल बाँधेर स्वदेश फर्किनेछन्। कोरोनाको जोखिम कायमै रहेका बेला यसरी नेपालीले भारत जानु र गौरा, दशैं–तिहारका लागि एकै पटक फर्किनुले अर्को लहर फैलिने सम्भावना रहेको चिकित्सक बताउँछन्।

‘अहिले खतरा टरेको छैन, गम्भीर प्रकृतिका केही बिरामी घटेका मात्र हुन्। कोरोनाको जाँच नै कम भएकाले संक्रमितको संख्या कम देखिरहेको छ’, सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले भने, ‘१५ प्रतिशतभन्दा बढी नै संक्रमण छ। यो भनेको समुदायमा अझै कोरोनाको संक्रमण कायम छ भन्ने नै हो’ ।

डा. कमरले भारत जानेहरूलाई रोक्न नसकिने भए पनि अब फर्किने बेला कसरी व्यवस्थापन गर्ने भन्ने तयारी अहिलेदेखि नै गरिहाल्नुपर्नेमा जोड दिए। ‘यसअघिका दुई चरणमा पनि सीमा नाकाको अस्तब्यस्तताले जटिलता आएको हो। अब पनि त्यही कुरा नदोहोरिनका लागि सीमा नाकामा भोली फर्किने ठुलो संख्याको नेपाली समुदायका लागि ब्यवस्थापन गर्न आवश्यक देखिन्छ’, उनले भनेको समाचार शिवराज भट्टले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij