जनकपुरधाम विवाद समाधानका लागि गृहमन्त्री गुरुङको पहलमा तीन तहका सरकारबीच छलफल
जनकपुरधाम । जनकपुरधाममा केही दिनयता दुई समुदायबीच देखिएको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङको पहलमा आज तीनै तहका सरकारका प्रतिनिधिबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा संघीय सरकार, मधेश प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधिहरू सहभागी भएका थिए। बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा संघीय गृहमन्त्री सुधन गुरुङको उपस्थिति रहेको थियो।
छलफलमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित अवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
बैठकका क्रममा हिन्दु सम्राटको प्रतिनिधिमण्डलले आफ्ना मागहरू सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरेको थियो। सरकारले उक्त मागपत्र प्राप्त गरी सम्बन्धित निकायसँग आवश्यक छलफल गर्दै समस्याको समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
सरकारले प्राप्त मागहरूलाई तत्कालीन परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित पक्षहरूसँग समन्वय गरी आवश्यक निर्णय लिने जनाएको छ। साथै, जनकपुरधाममा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र सामान्य जनजीवनलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताइएको छ।
गृहमन्त्री गुरुङले विवाद समाधानका लागि सबै पक्षसँग निरन्तर संवाद गर्दै आएका थिए। आजको छलफलले सरकार सबै पक्षसँग समान व्यवहार र सहकार्यको भावनाका साथ समस्या समाधानका लागि प्रतिबद्ध रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।
सरकारले सबै पक्षलाई संयमित रहन, आपसी सद्भाव कायम गर्न तथा कुनै पनि समस्याको समाधान वार्ता र संवादमार्फत खोज्न आग्रह गरेको छ। यस छलफललाई पछिल्लो समय देखिएको विवादलाई सहमति र संवादका माध्यमबाट समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।