ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त रकम बराबरको उक्त ऋणपत्र असार २० गतेदेखि निष्कासन गर्न लागेको हो ।
जसमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने छ भने ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गर्ने बैंकले जानकारी दिएको छ ।
सर्वसाधारणको लागि निष्कासन गर्ने ६ लाख कित्ता ऋणपत्र मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको र बाँकी रहेको ५ लाख ७० हजार ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
उक्त ऋणपत्रको निष्कासन छिटोमा असार २३ रहेको छ । उक्त अवधिमा विक्री नभएमा साउन ३ गते बैंकिङ समयसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।
आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ३० हजार कित्ता सम्म आवेदन गर्न पाउनेछन् । उक्त ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यसका साथै उक्त ऋण पत्र खरिद गर्न ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिई खरिद गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।