ई–आर्थिक, काठमाडौं । उपत्यकाका होटल तथा रेष्टुरेन्ट व्यवसायहरु आजदेखि नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा होटल तथा रेष्टुरेन्टमा लगाएको निषेधाज्ञा आदेश आजदेखि खारेजी भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्णय भएसँगै काठमाडौंमा लामो समययता बन्द होटल तथा रेष्टुरेन्टहरु खुल्ला भएका हुन ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रयाप्त स्वास्थ्य सुरक्षण विधि अपनाएर होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न दिइएको छ । सरकारले ढिलो गरी रेष्टुरेन्ट खोल्ने निर्णय गरेपनि राजधानीको कतिपय होटल रेष्टुरेन्ट बन्द समेत भइसकेका छन् । टिकेर बसेको होटल रेष्टुरेन्ट यो निर्णयसँगै व्यवसाय बचाउन सकिन्छ कि भन्ने आशामा व्यवसायी रहेका छन् । एक होटल व्यवसायी राजकृष्ण श्रेष्ठले भने– ‘भाडा तिर्न नसकेर उपत्यकामा कतिपय होटल तथा रेष्टुरेन्टहरु बन्द गरेर हिडिसकेका छन् । यसबाट हजारौंले रोजगार गुमाएका छन् ।’
अन्य व्यवसायजस्तै पहिला नै यो व्यवसायलाई सञ्चालन गर्न दिएको भए यो अवस्था आउने थिएन । सरकारले रोगको बहानामा सरकारले भोक र शोकले मार्न नहुँने उनको भनाई छ ।
