२०८३ भाद्र २८ आइतबार

सद्भाव कायम गर्न चुरेमा अङ्कमाल

ई आर्थिक    बुधबार, चैत्र १६ २०७३
7.6K
Shares
सद्भाव कायम गर्न चुरेमा अङ्कमाल

१६ चैत, सिन्धुली । देशको २ नम्बर प्रदेश र ३ नं प्रदेशको सीमास्थल सिन्धुली जिल्लास्थित चुरेमा मङ्गलबार आपसी एकता र सद्भाव कायम गर्न आपसी अङ्कमालको कार्यक्रम गरियो ।

शान्तिका लागि साझा अभियान (कोक्याप) परियोजनाको आयोजनामा सिन्धुली र धनुषा जिल्लाको सीमा अर्थात् २ र ३ नम्बर प्रदेशको सीमास्थलमा आपसी एकता कायम गर्न राष्ट्रिय झण्डासहित हात मिलाउने र अङ्कमाल गर्ने गरिएको हो ।

सो कार्यक्रममा सम्बोधन गर्दै संस्थाका क्षेत्रीय अध्यक्ष पुष्पराज पौडेलले मधेसी र पहाडीबीचको भेदभावलाई अन्त्य गर्दै शान्ति र सामाजिक सद्भावलाई खलबलाउन नदिन युवासम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो ।

सदियौँदेखिको आपसी एकता सद्भावलाई अहिले नेपाली समुदायलाई जाति, भाषा, धर्म, लिङ्ग, वर्ण र संस्कृतिको आधारमा फुट गराउने प्रयास भएको भन्दै एकता नफुटाई मजबुत बनाउन अभियान थालनी गरिएको उहाँको भनाई थियो ।

यस अभियानले अझ युवाहरुलाई एकताबद्ध गराएर अराष्ट्रिय तत्वहरुलाई परास्त गरी शान्ति, समृद्धि र सबल नेपालको निर्माणका लागि युवा लाग्नुपर्छ भनेर हिमाल, पहाड, तराईका युवाहरुले अङ्कमाल गरिएको र यसले भोलिका दिनमा देशलाई समृद्धितर्फ लैजान सहयोग गर्ने उहाँको भनाई छ । शान्तिको अपरिहार्यतालाई महसुस गर्दै शान्तिका लागि साझा अभियान थालनी गरिएको पनि बताइएको छ ।

अभियानमा बारा र रौतहट जिल्लाका ३० जना मधेसीमूलका युवा र काठमाडौँलगायत पहाडी, हिमाली क्षेत्रका ३० जना युवा सहभागी भएको कोक्याप परियोजनाका कार्यक्रम संयोजक हरिप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

स्थानीय तहका सामाजिक समस्याहरुलाई युवाको नेतृत्वमा समाधान गर्नमा सक्रिय भूमिका निर्वाह गर्ने तथा युवा स्वरोजगारका लागि उद्यमशीलता विकास गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij