२०८३ साउन ९ शनिबार

विदेशी पर्यटकहरु नेपाली सहयोगी बिना नै पदयात्रामा जाँदा समस्या बढ्दै

ई आर्थिक    बुधबार, चैत्र ९ २०७३
6.4K
Shares
विदेशी पर्यटकहरु नेपाली सहयोगी बिना नै पदयात्रामा जाँदा समस्या बढ्दै

९ चैत, पोखरा । पदयात्राका लागि आउने विदेशी पदयात्री नेपाली सहयोगी बिना नै पदयात्रामा जाँदा समस्या बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आउने अधिकांश विदेशी पर्यटक यहाँ हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट उडानका साथै जिपफ्लाई र अन्नपूर्ण सर्किट एवम् मर्दी हिमालमा पदयात्राका लागि जाने गरेका छन् ।

पदयात्रामा जाँदा नेपाली सहयोगी लिएर जानुपर्ने भएपनि बिना सहयोगी जाने क्रमले दुर्घटनामा पर्ने, हराउनेजस्ता समस्या बढ्दै गएको नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताउनुभयो । “हालै लाङटाङमा ताइवानी नागरिक हराएका छन्, यसअघि इजरायली, अफ्रिकन नागरिक पनि हराएका थिए,” उहाँले भन्नुभयो, “पदमार्ग क्षेत्रमा हराउने तथा दुर्घटनामा पर्ने पदयात्री लगभग ९९ प्रतिशत बिना सहयोगी जाने पर्यटक पर्ने गरेको तथ्याङ्क छ ।”

राज्यले पदयात्री पर्यटकलाई सहयोगीसहित जाने अनिवार्य व्यवस्था गरेमा सुरक्षाका साथै सम्भाव्य दुर्घटनाबाट समेत बचाउन सक्ने बताउँदै उहाँले बिना सहयोगी जाने पर्यटकले निषेधित क्षेत्रमा भ्रमण गर्ने तथा अन्य अवैध किसिमका गतिविधि गर्ने क्रम पनि नियन्त्रण हुने बताउनुभयो । पोखरा आसपासका मर्दी हिमालका साथै अन्नपूर्ण सर्किट नेपालकै उत्कृष्ट पदमार्गमा पर्दछन् ।

अन्नपूर्ण सेरोफेरोमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक, राउन्ड मनास्लु, घान्द्रुक, धम्पुस, जोमसोम, नारफूलगायत दर्जनौँ स्थानमा उत्कृष्ट पदयात्रा मार्ग रहेका छन् ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक पदयात्राकै लागि आउने गरेको बताउँदै अध्यक्ष अधिकारीले जथाभावी सहयोगी बिना नै पदयात्रामा जाने क्रमलाई तत्काल रोक्नका लागि राज्यले उचित कदम चाल्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij