२०८३ भाद्र २७ शनिबार

निर्वाचन हुन्छ, हुन्छ, हुन्छ – काँग्रेस सभापति देउवा

ई आर्थिक    सोमबार, चैत्र ७ २०७३
4.9K
Shares
निर्वाचन हुन्छ, हुन्छ, हुन्छ – काँग्रेस सभापति देउवा

७ चैत, भक्तपुर । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताउनुभएको छ ।

आज भक्तपुरको लोकन्थलीमा नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उहाँले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले भन्नुभयो – “चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक सङ्कट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।”

उहाँले चुनावमा जानुको अब विकल्प छैन्, चुनाव नभए प्रजातन्त्र नै नरहने सङ्केत गर्दै चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

हिमाल, पहाड र तराईलाई विभाजन गरी यहाँका बासिन्दाको एकता भाँड्ने षड्यन्त्र भइरहेको बताउँदै सभापति देउवाले भन्नुभयो – “तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको छ, यसलाई चिर्न पनि काँग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी छ ।”

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामेश्वर ढुङ्गेल, मनमोहन भट्टराई, काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, काँग्रेस नेता मधु आचार्य, काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले नेपाली काँग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एकढिक्का भएर चुनावमा गए जित हासिल हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij