उम्मेद्वारका आकांक्षी दर्जनौं, नविकरण र राष्ट्रिय प्रतिनिधिको विषयलाई लिएर विवाद सुरू
ई–आर्थिक, काठमाडौं । देशभरका सहकारीहरुको अविभावक छाता संस्था राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा यसपटक महासंग्राम हुने संभावना बढेको छ । निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेद्वारका बढ्दो आकांक्षी, नविकरण र राष्ट्रिय प्रतिनिधिको विषयलाई लिएर निर्वाचन महासंग्राममा हुने संभावना बढेको हो ।
महासंघको यही पौष २४ र २५ गते हुने २७ औं बार्षिक साधारण सभाले नयाँ नेतृत्व सहितको नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । अध्यक्षमा पदमा महासंघका बर्तमान बरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, उपाध्यक्ष ओमदेबी मल्ल र लेखा समितिका संयोजक धर्मदत्त देवकोटाले इच्छा देखाएपछि यो पदको नेतृत्व चयनमा सकस हुने देखिएको छ । अध्यक्षका तीनजनै उम्मेद्वारका आकांक्षी नेकपा समर्थक सहकारीकर्मीहरु हुन । चुनावी बातावरण बनेमा प्रजातान्त्रिक पक्षधर सहकारीकर्मीले समेत अध्यक्षमा उम्मेद्वार दिने संभावना देखिएको छ । यद्यपी प्रजातान्त्रिक पक्षधरको मत संख्या नेकपा समर्थक सहकारीकर्मीको मत भन्दा केही कम देखिएको महासंघ स्रोतले जानकारी दिएको छ ।
महासंघमा ३२५ सदस्य रहेकोमा पछि थप भएका गरी ३३४ सदस्य पुगेकोे छ । तर नविकरणको लागि भने २७५ जति मात्रै आएको स्रोतले जानकारी दिएको छ । यद्यपी नविकरण गर्ने सदस्यको संख्या र राष्ट्रिय प्रतिनिधिको अन्तिम संख्याको बारेमा महासंघले केही जानकारी दिएको छैन । आएका निवेदन उपर छलफल गरी २२ गतेको बोर्ड बैठकले राष्ट्रिय प्रतिनिधिसहितको नविकरण हुने सदस्यको संख्या टुंग्याउने र निर्वाचन समितिमा पेश गर्ने महासंघकी महाप्रबन्धक चित्राकुमारी थुम्सुहाङले जानकारी दिनुभयो । समाचार स्रोतले दिएको जानकारी अनुसार ४ वटा संस्थाले दिएको निवदेन रित पुगेको छैन । रित नपु¥याई आएकोले उनीहरुको उक्त निवेदन महासंघले सदर गरेको छैन । त्यसले विवाद समेत सिर्जना भइरहेको स्रोतले बताएको छ । यो विवाद निवेदकको पक्षमा टुंगो नलागे अदालती प्रक्रियामा समेत जाने तयारी भइरहेको छ ।
अदालती प्रक्रियामा गए महासंघको यही पुष २४/२५ गते हुने भनिएको साधारणसभा समेत सर्न सक्ने स्रोतले दाबी गरेको छ । नविकरण र राष्ट्रिय प्रतिनिधि मनोनयनमा यसपटक केही कडाई गरेका कारण दर्जनौं सदस्यहरु मताधिकारबाट बञ्चित हुँदैछन् । त्यसका लागि महासंघले राष्ट्रिय प्रतिनिधिको फारम भरी सम्वन्धित संघको घटिमा २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदन, सहित साधारण सभा वा संचालक समितिले राष्ट्रिय प्रतिनिधि मनोनयन गरेको निर्णयको प्रतिलिपि, मनोनित राष्ट्रिय प्रतिनिधिको नागरिकता वा मतदान परिचय पत्र वा सम्बन्धित स्थानमा बसोबास गरेको प्रमाणित हुने कागजातको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने जस्ता केही कडा प्रावधान ल्याएको छ ।
प्रक्रिया पु¥याएर नआएका सदस्य प्रतिनिधि सोझै खारेजी हुने निर्वाचन समितिका संयोजक रामचन्द्र सिम्खडाले जानकारी दिए । ‘साधारणसभामा सहभागी हुने सम्बन्धमा एउटा महासंघले निश्चित प्रक्रिया बनाइदिएको छ ।’ उनले भने– ‘साधारणसभा र निर्वाचनमा सहभागी हुन त्यही प्रक्रिया पु¥याएर आउनुपर्छ ।’ उता महासंघको अध्यक्षका आकांक्षी धेरै देखिए पनि सहकारी अभियानको बहुमत मीनराज पछि ओमदेबीमा देखिएको स्रोतले बतायो । तर, पार्टीको पहुँचमा भने धर्मदत्त निकै अगाडि देखिएको पार्टी स्रोतले जानकारी दिएको छ । ‘यो पदको भागबण्डा सभामुख चयनको सम्म जोडिने भएकाले तीन जनामा कुन चाँहीले आधिकारिक उम्मेद्वार उम्काउने भन्ने एकिन छैन् ।’ सहकारीलाई नजिकबाट हेर्ने नेकपाका एक नेताले भने– ‘महासंघको अध्यक्ष पदको कुरा पार्टीको माथिल्लोस्तरसम्मै पुगिसक्यो ।’ धर्मदत्त पार्टी अध्यक्ष प्रचण्डका नजिकका व्यक्ति मानिन्छन् । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष समेत भइसकेको बर्तमान लेखा समितिका संयोजक धर्मदत्तलाई अन्य उम्मेद्वारले कमजोर भने देखेका छैनन् । यद्यपी नेकपाका महासचिव विष्णु पौडेलको तहबाटै निर्णय हुने अवस्थामा भने मीनराज अध्यक्षको उम्मेद्वारमा सिफारिस हुने संभावना निश्चित जस्तै देखिएका ती नेताले जानकारी दिए ।
सहकारी क्षेत्रमा लामो समय योगदान पु¥याएका मीनराजलाई भने सहकारी क्षेत्रले बढि रूचाएका व्यक्तिमा पर्छन् । नेफ्स्कूनमा अध्यक्ष समेत भइसकेका उनीसँग सहकारीको प्राविधिक विषयमा समेत प्रसस्तै ज्ञान भएका सहकारीका अगुवाको रुपमा यो क्षेत्रमा परिचित छन् । त्यसो त ओमदेवीको चर्चा पनि कम छैन । नेकपाका माथिल्लो तहका धेरै नेताहरूसँग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ । धर्मदत्तको तुलनामा भने ओमदेवीलाई सहकारी क्षेत्रले बढी रुचाएको व्यक्तिमा पर्ने सहकारीकर्मीहरुको भनाई छ । महासंघका बर्तमान अध्यक्ष केशबप्रसाद बडाल भने अध्यक्ष पदमा केही अलमलमा देखिएको स्रोतले उल्लेख गरेको छ । यद्यपी बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा उनेल विशेष चाँसो दिइरहेको बुझिएको छ । उनले सो दुई पदमा रमेश पोखरेल र ओमदेवीलाई अगाडि बढाउन खोजिरहेको स्रोतको भनाई छ ।
पदाधिकारीहरु चयनमा धेरैको स्वार्थ बाझिएकाले पनि निर्णय तहमा पुग्न अभियानका अगुवा र पार्टीका नेताहरुलाई सकस भइरहेको पनि स्रोतले उल्लेख गरेको छ । पार्टीस्तरबाट यस सम्बन्धि निर्णयलाई सजिलो बनाउन प्रचण्डलाई समेत सहकारीको कार्यक्रममा बोलाउन थालिएको छ । कृषि सहकारी केन्द्रीय संघले निर्माण गरेकोे तालिम तथा प्रशिक्षण भवनको उद्घाटनको अवसर पारेर संघका केन्द्रीय अध्यक्ष खेमप्रसाद पाठकले केही दिन अघि मात्रै प्रचण्डलाई उम्मेद्वारहरुसँग जम्काभेट गराइदिएका छन् ।

प्रचण्डले उद्घाटन गरेको सो कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे महासंघका अध्यक्ष केशबप्रसाद बडाल, अध्यक्षका आकांक्षी तथा महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, अध्यक्षका अर्का आकांक्षी तथा लेखा समितिका संयोजक धर्मदत्त देवकोटा लगायतलाई चितवन आमन्त्रण गरेका थिए । प्रजातान्त्रिक पक्षधरका सहकारीकर्मीको ‘फोकस’ भने सहमतिय बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र केही सञ्चालक पदमा देखिएको छ । यद्यपी उपाध्यक्षको पद प्राप्तीको लागि भएपनि अध्यक्षलगायत सबै पदमा उम्मेद्वारी घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ ।
प्रजातान्त्रिकबाट उपाध्यक्षमा सुरेन्द्र भण्डारी, दक्ष पौडेल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारीले चासो देखाइ रहेका छन् । सबैले मूख्य पदमा उम्मेद्वारीको चासो देखाउन थालेपछि उनीहरुबीच पनि को कसरी अगाडी बढ्ने भन्ने बारेमा निर्णय गर्न केही सकस भइरहेको बुझिएको छ । त्यसैगरी प्रदेश १ बाट शिब डाँगी र रामचन्द्रको चर्चा चलेको छ । प्रदेश नं. २ बाट क–कसले उम्मेद्वार हत्याउने भन्ने विषयमा अन्यौल रहेको स्रोतले बताएको छ । त्यस्तै प्रदेश नं. ३ बाट डि.बी. बस्नेत र टेकप्रसाद चौलागाईले उम्मेद्वारी दिने तयारी गरिरहेका बुझिएको छ । प्रदेश नं. ४ मा भने प्रभा कोइरालाको कुरा आएको छ भने र प्रदेश नं. ५ मा भीम तुलाचन र प्रेम सुवेदीको चर्चा छ । त्यसैगरी प्रदेश नं. ६ र ७ लाई भने महिलालाई प्राथमिकतामा राखेर उम्मेद्वार चयनको डिजाइन भइरहेको स्रोतले उल्लेख गरेको छ ।
महासंघका अधिकांश बर्तमान सञ्चालकले आफ्नो पदलाई दोहो¥याउन चाहिरहेकाले पनि यो चुनाबमा भाले भिडन्तको प्रवल सम्भावना रहेको छ । तर हालैमात्र जिल्ला सहकारी संघ काठमाडौंले सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन गरेजस्तै गरी सर्वसम्मतको संभावना पनि उत्तिकै रहेको सहकारी अभियानका एक अगुवाले बताए ।
जिल्ला सहकारी संघ काठमाडौंका ७ जना राष्ट्रिय प्रतिनिधि, अधिकांशले उम्मेद्वारी दिने जिल्ला सहकारी संघ काठमाडौंसँग जोडिएका ७ जना राष्ट्रिय प्रतिनिधि बनेका छन् । ती मध्ये अधिकांशले महासंघको सञ्चालक र लेखा समितिमा उम्मेद्वारी दिने तयारी गरिरहेको बुझिएको छ । जसमध्ये के.बी. उप्रेती राष्ट्रिय सहकारी बैंकबाट राष्ट्रिय प्रतिनिधि बनेका छन् भने, टेकप्रसाद चौलागाई जिल्ला सहकारी संघ काठमाडौंबाट, ज्ञानबहादुर तामाङ जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंबाट, खेमराज सुबेदी जिल्ला स्वास्थ्य सहकारी संघबाट, दिपक पनेरु कास्कूनबाट सिता ढकाल केन्द्रीय उपभोक्ताबाट, रामचन्द्र अर्याल जिल्ला उपभोक्ता सहकारी संघबाट र इन्दिरा पन्त जिल्ला कृषि सहकारी संघबाट रहेका छन् ।
ति मध्ये के.बी. उप्रेती, टेकप्रसाद चौलागाई र रामचन्द्र अर्यालको उम्मेद्वारीले बढी प्राथमिकता पाउने संभावना रहेको पनि स्रोतले उल्लेख गरेको छ । उप्रेती र चौलागाई बढी संभावना भएका उम्मेद्वार भएको स्रोतको भनाई छ । स्रोतले भन्यो– ‘सञ्चालकमा दुईको बिजयी घोषणा गर्न मात्र बाँकी हो, लेखा समितिमा चासो राखेका अर्यालको संभावना ‘फिप्ट/फिप्टी’ छ ।’