२०८३ भाद्र ३० मंगलबार

लक्ष्मी बैंकको हदैसम्मको बदमासी, अरूले लिएको ऋण असुल्न प्रतिष्ठित ब्यबसायीको ‘बली’ !

ई आर्थिक    मंगलबार, पौस ८ २०७६
24.1K
Shares
लक्ष्मी बैंकको हदैसम्मको बदमासी, अरूले लिएको ऋण असुल्न प्रतिष्ठित ब्यबसायीको ‘बली’ !

ई–आर्थिक, काठमाडौं । लामो समयसम्म अध्यक्षबिहीन भएर सञ्चालन भइरहेको लक्ष्मी बैंकभित्र कतिसम्म बदमासी भइरहेको छ भनेर तथ्यहरु खुल्न थालेको छ । ई–आर्थिकले लक्ष्मी बैंक निकै जोखिम र अपारदर्शीढंगले सञ्चालन भइरहेको समाचार सम्प्रेषण गरेपछि उक्त समाचार हेरेर एक पीडितले प्रमाणसहित दिएको जानकारीले जोकसैलाई एक पटक झसंग बनाउँछ । यस तथ्यले लक्ष्मी बैंक कतिसम्म अबिश्वासिलो र आपराधिक नियतले सञ्चालित छ भन्ने पनि दर्शाउँछ ।

बैंकको बदमासी विवरण अनुसार अल्पाइन कार्ड सर्भिस नामक कम्पनीका सञ्चालक रबिन्द्र मल्लका राम्रो जानपहिचानका मित्र नवराज नेपालले लक्ष्मी बैंकबाट प्रक्रियागतढंगले कर्जा लिएका थिए । नवराज टेम्पल आर्ट एक्स्पोजिसनका सञ्चालक हुन । भिसा कार्ड र मास्टर कार्ड सम्बन्धी सेवा प्रदान गर्ने कम्पनी अल्पाइनले कारोबार सञ्चालनका लागि टेम्पल आर्ट र लक्ष्मी बैंकबिच चिनाजानी गरेकाले मल्ल, नेपाल र बैंकबिच थप घनिष्ट सम्बन्ध थियो ।

टेम्पल कार्ड कम्पनीले बैंकबाट लिएको ऋण तिर्न नसकेकाले नबराज नेपाल कालो सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेछन् । यसले बैंकको खराब ऋणसमेत बढेकोले बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन जोशीलाई पनि तनाब बढाएको रहेको थियो । साथीभाई चिनाजानी गराईदिएका टेम्पल र त्यसका सञ्चालक नेपाल कालोसूचीमा पर्दा बैंकलाई पनि केही समस्या पर्नेथियो । यस्तो जटिल परिस्थितिलाई मध्यनजर गरेर बैंकका तत्कालिन सीईओ जोशीले आफ्ना बैंकका कर्मचारीहरु हालका डेपुटी सीईओ सुमेद भट्टराई, कर्पोरेट बैंकिङ हेड मनिषराज कुँवर र तत्कालिन क्रेडिट डिपार्ट हेड समेतलाई रोहबरमा राखेर मल्लसँग समस्या समाधानको प्रस्ताब राखे ।

प्रस्ताब अनुसार टेम्पल र सञ्चालक नेपाल खराब ऋणीमा परेको हुँदा उसलाई सबैले सहयोग गरेर उकास्नु पर्ने र त्यसका लागि मल्लले लक्ष्मी बैंकबाटै आवश्यक ऋण लिएर टेम्पलको ऋण नबीकरण गरिदिनु पर्ने थियो । अल्पाइनलाई ऋणको आवश्यकता नपरेकाले सुरुमा मल्लले यसलाई अस्वीकार गरे । आपतको बेला सहयोग गर्नु साथीहरुको कर्तब्य भएको र यसले तपाईलाई कुनै समस्या नहुने भन्दै सीईओ जोशीले मल्लसँग आग्रह गरे । मल्ललाई ऋणको लागि आवश्यक प्रक्रिया बैंकले नै मिलाई दिने र त्यो ऋण रकम निकालेर टेम्पलको कर्जा चुक्ता गरी कालोसूचीमा पर्नबाट सहयोग गर्ने भनेर सीईओ जोशीले बेलीबिस्तार लगाएपछि मल्लले आफ्नो कम्पनीका नाममा लिएको ऋण चुक्ता कसरी हुन्छ त भनेर जिज्ञासा राखे । यसको उत्तरमा सीईओ जोशीले टेम्पललाई उसको ऋण नबीकरण गरेर खराब ऋणीको सूचीबाट हटाएपछि उसले राखेको धितो बेच्ने र आएको रकमले मल्लले लिएको ऋण असुलउपर गर्ने जुक्ति पनि बताए ।

यो मात्र टेम्पलका सन्चालक नेपालको समस्या हलसँग सम्बन्धित निस्वार्थ सहयोग जस्तो गरी सीईओले मल्ललाई ‘कन्भिन्स’ गरे । आफू समस्यामा नपर्ने र त्रिपक्षीयरुपमा फाइदा हुन सक्ने ठानेर मल्लले हुन्छ न त भन्दिए । यसपछि तीनै पक्ष बसेर माथि उल्लेखित सीईओ जोशीको योजनामा आपसमा मौखिक सहमति पनि गरे । यति गरेपछि बैंकले नै मल्ललाई कर्जा दिने फाइल तयार ग¥यो र मल्लले कर्जामा सही गरे । एक करोड ९७ लाख मल्लको कम्पनी अल्पाइनको नाममा कर्जा निस्कियो र योजना अनुसार नै टेम्पलको ऋण असुल गरियो ।

एल्पाइन र बैंक समेत २०६५/१२/१८ गते भएको त्रिपक्षीय सहमति अनुसार सुरु–सुरुमा टेम्पलले एल्पाइनको खातामा पैसा राख्दै गयो र अल्पाइनले पनि बैंकको ऋण तिर्दै गयो । यसरी अल्पाइनको खाताबाट बैंकले १ करोड ७२ लाख असुल पनि ग¥यो ।

जसअनुसार बैंकले १५ जुलाई २०१० मा ५४ लाख, १७ अक्टोवर २०१० मा ५० लाख, १३ जनवरी २०११ मा ४२ लाख, ९९ हजार ९ सय, १३ अप्रिल २०११ मा ३० लाख र १७ जुलाई २०११ मा ६५ लाख असुलेको देखिन्छ ।

पछि बिस्तारै टेम्पलका नेपालले मल्ल र बैंकसँग सम्बन्ध बिगार्दै लगे । उनले फेरि बैंकको ऋण नतिरी उल्टो अल्पाईन र बैंकबिरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरे । यसले बैंक फेरि समस्यामा पर्न गयो । यही बिचमा बैंकले नेपालसँग खुसुक्क सम्झौता गरेर मुद्धा फिर्ता गर्न लगाएछ र टेम्पलको धितो लिलाम गरी आफ्नो कर्जा असुल गरेछ । अल्पाइनलाई यसको सुइँको पनि दिइएन । अब टेम्पल र बैंकबिच लेनादेना समाप्त बनाइयो । तर टेम्पलका नेपालको ऋण नबीकरण लागि भनेर अल्पाईनले लिएको ऋणका सम्बन्धमा भने बैंक र टेम्पलका सन्चालक नेपालले कुनै चासो देखानन् । यतिबेलासम्म बैकका सीईओ जोशीले पनि बैंक छाडिसकेका थिए । तर बैंकका माथिल्लो तहमा रहेका कर्मचारीलाई यसबारेमा थाहा भएकाले मल्लले यसबारेमा चित्त दुखाई गरे ।

बैंकका कर्मचारीहरुले पनि यो ठूलो समस्या होइन, मिलिहाल्छ नि भन्दै टारे । सो बैंकमा अल्पाईन कम्पनीको नाममा ऋण भने रहिरह्यो । गएको असार २२ गते बैंकले एकाएक अल्पाइनले लिएको सावाँ ब्याजसमेत गरी ६ करोड रुपैया नबुझाएकाले उसको धितो लिलाम गर्न भनी बैक सन्चालक समितिले निर्णय गरेको जानकारी गराइयो । यसबाट मल्ल छाँगाबाट खसेजस्तो भए । बैंकले असार ३० गते नै लिलामीको बोलपत्र निकाल्यो । यसपछि मल्लले काठमाण्डौ जिल्ला अदालतमा जालसाजीको मुद्धा दायर गर्न बाध्य बने । अहिले मुद्धा बिचाराधीन अबस्थामा छ ।

यो घटनालाई हेर्दा लक्ष्मी बैंक कति धोकेबाज रहेछ भनेर बुझ्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरु ग्राहकको बिश्वासमा टिकेका हुन्छन् । ग्राहक र बैंकबिच जति बिश्वासको वातावरण बन्छ, त्यति नै बैंकको भबिष्य सुनिश्चित हुन्छ । तर यो विषयमा भने बैंकले खराब मनस्थितिका साथ मल्लसँग ‘डिलिङ्ग’ गरेको देखिन्छ । पहिले विश्वास दिलाएर ऋणको लागि सहमति गरायो । डुबेको आफ्नो ऋण पनि असुल ग¥यो । यसको लागि बाताबरण निर्माण गरिदिने मल्लजस्ता ईमान्दार ग्राहकलाई भने आर्थिक रुपको ‘बली’ दियो ।

उनको १ करोड ७२ लाखको न साँवा नत व्याज नै लिन पाएका छन् । एल्पाइन कार्ड सर्भिसको खातावाट निकालिएको ८ बर्ष वितिसक्दा पनि बैंकले पैसा फिर्ता नगरे पछि पिडित मल्ल विभिन्न निकाय धाउन थालेका छन् ।

बैंकको प्रचलित व्याजदरले जोडदा आजका मितिसम्म ६ करोड बढी हुने मल्लले बताए । उक्त रकम उपलब्ध गराउन आवश्यक सहयोग गरिदिनुहुन भनि लक्ष्मी बैंकका साथै नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाई समितिमा निवेदन दिएका छन् ।

आफ्नो पैसा असुल नहुञ्जेल मल्ल अन्य थप निकायहरुमा समेत उजुरी लिएर जाने तयारीमा रहेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), राष्ट्रिय सतर्कता केन्द्र र नेपाल बैंकर्स एसोसिएसनमा समेत उजुरी दिने तयारी गरिरहेको बताए ।

‘बैंकले उपलब्ध गराएको उक्त कागजात हेरपछि राष्ट्र बैंकले नियमसँगत लिएको रहेछ फिर्ता गर्नु पर्दैन भनिहाल्थ्यो नि !’ बैंकका एक पूर्वसीईओले भने– ‘यो विषयमा बैंक पनि अलिक अपारदर्शी ढंगबाट अगाडि बढेको देखियो ।’ यस्ता विषयलाई गम्भीर भएर नलागे बैंक प्रतिको जनविश्वास गुम्न सक्ने समेत उनले बताए ।

मल्लले बैंकको कार्यकारी प्रमुखको भनाईलाई संस्थागत मानेर बिश्वास गरे । यो बिश्वास नै मल्लका लागि अहिले गलपासो बन्दैछ । यो घटनाले बैंकले कुनै पनि ग्राहकलाई कुनै पनि बेलामा धोका दिन सक्छ भन्ने सन्देश समेत दिएको छ ।

पीडित रविन्द्रबहादुर मल्ल को हुन ?
काठमाडौंको हात्तिसारका पुराना वासिन्दा रबिन्द्रबहादुर मल्ल नेपालका प्रतिष्ठा भएका व्यवसायीमा गनिन्छन् । कार्डमार्फत सहज भुक्तानीको व्यवस्था मिलाउने अवधारणा नेपालमा पहिलो पटक उनले नै भित्र्याएका हुन । अल्पाईन कार्ड सर्भिसका अध्यक्ष/सञ्चालक समेत रहेका मल्लले नै स्मार्ट च्वाईस टेक्नोलोजि (एससीटी) नेटवर्क स्थापना गरेका थिए । विभिन्न व्यवसायमा आबद्ध उनीसँग टेक्नोलोजी प्रयोगमार्फत भुक्तानीको सहजतामा विशेष दख्खल छ । पछिल्लो समयमा नेपाल क्लियरिङ्ग हाउस कम्पनीको मूख्य अवधारणाकार समेत उनै हुन । उनकै अगुवाईमा उक्त कम्पनी स्थापना भएको थियो ।

‘मलाई विश्वासघात गरियो’
रबिन्द्रबहादुर मल्ल
अध्यक्ष/सञ्चालक
अल्पाइन कार्ड सर्भिस प्रा.लि.

लक्ष्मी बैंकले गरेको भद्र सहमति कार्यन्वयन नगर्दा पिडित बनेका रबिन्द्रवहादुर मल्ल आफ्नो उक्त रकम कुनै पनि हालतमा गुम्न नदिने बताएका छन् । त्रिपक्षिय सहमति बमोजिम आफ्नो रकमको व्याज सहित फिर्ता गर्न उनले बैंकसँग आग्रह गरे । विश्वास नेपालीहरुको ठूलो सम्पत्ति हो । हरेक कुराहरु विश्वासबाट चल्छौं चलाउँछौं । उक्त विश्वासलाई दुरुपयोग नगर्न उनले बैंकलाई चुनौति समेत दिए । बैंकका तत्कालिन सीईओ सुमन जोशी र अध्यक्ष राजेन्द्र खेतानले समेत दाईलाई अन्याय भएको रहेछ । अडिटको प्रक्रिया मिलाएर रकम फिर्ता गरिदिने वातावरण मिलाउँछु भनेको मल्लले बताए । उक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्न बैंकका हालका माथिल्लो तहका कर्मचारीसँग आग्रह गरेका छन् । ‘मैले सहमति पालना गरिदिएका कारणले बैंकले आफ्नो नाफा बढाउन पायो, टेम्पल आर्ट एक्सोजिसनका सञ्चालक नवराज नेपाल कालोसूचि हुनबाटा जोगियो ।’ उनले गुनासो गर्दै भने– ‘दुई पक्षलाई फाइदा भइसकेपछि आफूलाई प्रयोग गरेर आर्थिक रुपमा ‘बली’ बनायो । प्रचलित व्याजदरले हिसाव गरेर पैसा फिर्ता पाउनु पर्ने आफ्नो एक सुत्रिय माग भएको उनले बताए र उनले आफ्नो उक्त रकम बैंकसँग जसरी भएपनि असुल्ने पनि जानकारी दिए ।

‘राष्ट्र बैंकले तिर्नु पर्दैन भनेको छैन’
अजय विक्रम शाह
प्रमुख कार्यकारी अधिकत
लक्ष्मी बैंक लिमिटेड

नेपाल राष्ट्र बैंकको गुनासो सुनवाई समितिमा परेको उजुरीमा लक्ष्मी बैंकले एक पटक ‘फेस’ गरिसकेको छ । राष्ट्र बैंकले उक्त रकम तिर्नु नपर्ने भए आधार प्रमाण सहितका आवश्यक कागजात उपलब्ध गराउनु भनेको थियो । उक्त कागजातहरु राष्ट्र बैंकमा पेश गरिसकेको बैंकका सीईओ अजय विक्रम शाहले ई–आर्थिक डटकमलाई बताए । उक्त कागजात उपलब्ध गराएपछि राष्ट्र बैंकले रविन्द्रबहादुर मल्ललाई फिर्ता गर्नु पर्दैन नभनेको सीईओ शाहले जानकारी दिए । यो विषयमा राष्ट्र बैंकले पुनः बोलाउने भनेको उनले बताए ।

धेरै पुरानो घटना भएकाले आफू पुरै अपडेट भने नभएको भन्दै सीईओ शाहले यस विषयमा लामो कुरा गर्न चाहेनन् । यद्यपी यो विषयमा बैंक पनि गम्भीर नै भएको उनले बताए । बैंकका तत्कालिन सीईओ सुमन जोशी र बैंकका अध्यक्ष राजेन्द्र खेतान समेतले यो विषयमा तपाईलाई अन्याय भएको रहेछ अडिटको प्रक्रिया मिलाएर तपाईको रकम फिर्ताको व्यवस्था मिलाउला भनेको प्रतिबद्धताको विषयमा भने सीईओ शाहले अनविज्ञता प्रकट गरे । यो विषयलाई टुङ्याउन आफू पनि प्रतिबद्ध भएको र गम्भीर रुपले लागि परेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij