काठमाडौँ महानगरपालिकाका रहेका धेरैजसो घरधनीले नियम विपरित घर बनाएका छन । यो कुरा महानगरपालिकालगायत सबैलाई थाहा भएको कुरा हो । तर ती घरधनी मध्ये करिब एक हजार घरधनीले भने आफ्नो इमान्दारिता प्रदर्शन गरेका छन् । उनीहरुले आफूले नियम विपरीत घर निर्माण भएको जनाउँदै महानगरपालिकामा निवेदन दिएका छन् ।
नियम विपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म तीनै करिब एक हजार घरधनीले मात्रै निवेदन दिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाले एक महिनाअघि ३५ वटै वडामा नियम विपरीत निर्माण भएका घरलाई निवेदन दिनका लागि सूचना दिएको थियो ।
नक्सा पास नभएको तर नियम विपरीत निर्माण भएको घरका लागि नक्सा पास गराउन, नक्सा पास भएर पनि सोही अनुरुप निर्माण नभएकाको तथ्याङ्क राख्न र कति नक्साअनुसार निर्माण भएका छन् भन्ने कुराको जानकारी राख्नका लागि कामपाले यस्तो अभियान ल्याएको महानगरको भनाइ छ ।
यही पुस मसान्तसम्म घरधनीले कामपामा निवेदन पेस गर्न पाउनेछन् । समय केही बाँकी भएकाले त्यस्ता घरधनीको संख्या बढ्ने अनुमान महानगरको छ । निवेदनसँगै नागरिकले करको लालपुर्जा, कर बुझाइएको बिल तथा घरबहालमा दिएको भए त्यसको कागजपत्रसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
काठमाडौंको डिल्लीबजार, बागबजार र घट्टेकुलो क्षेत्रबाट निवेदन आए पनि असन, भोटाहिटी र कान्तिपथ क्षेत्रमा बढी घर नियम विपरीतको भएको महानगरको भनाई छ । यस्तो तथ्याङ्कले भत्काउनुपर्ने घरलाई भत्काउन र आवश्यकता परे कानुनको तर्जुमा गर्नसमेत सहयोग पुग्ने कामपाले जनाएको छ ।
सामान्य नियम उल्लङ्घन गरेका बाहेक सार्वजनिक स्थानमा निर्माण भएका र छिमेकीलाई असर पुग्ने गरी बनेका घर तथ्याङ्कका आधारमा कामपाले भत्काउनेछ । कामपाले ३५ वटै वडामा निर्माण भएका घरमध्ये ८० प्रतिशत नियम विपरीत निर्माण भएको हुन सक्ने अनुमान गरेको छ ।