२०८३ भाद्र ३० मंगलबार

सिटिजन्स बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    आइतबार, असोज १२ २०७६
8.4K
Shares
सिटिजन्स बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

राजनसिंह भण्डारीलाई अध्यक्षमा चयन

ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १३औं वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माको अध्यक्षतामा अमृतभोग, कालीकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भयो ।

सभामा आ.व. २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम रु. १,००,४५,२७,७७३/– नगद लाभांश र ३ प्रतिशतले हुने रकम रु. २५,११,३१,९४३/– बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने सभालाई विश्वास दिलाए । शेयरधनी तथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्त हुनेमा आशा समेत उनले प्रकट गरे ।

सोही साधरणसभाले संस्थापक समूह अन्र्तगत राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यसै गरी सर्वसाधारणको तर्फ भएको निर्वाचनबाट सीता कार्की (के.सी.) निर्विरोध निर्वाचित भएकी छन् । त्यसैगरी साधारणसभा पछि आजै बसेको संचालक समितिको ३१४ औं बैठकले राजनसिंह भण्डारीलाई अध्यक्षको रुपमा चयन गरेको छ । उनी यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । सोहि अवधिमा बैंकले रु. १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरु अगाडि बढाइरहेको जानकारी दिएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

युवा उद्यमी पाण्डेको बैंकमा प्रवेश

यसैबीच युवा उद्यमी प्रवलजङ्ग पाण्डे सिटिजन्स बैङ्क इन्टरनेसनलको बोर्ड अफ डाइरेक्टरमा चुनिएका छन् । उनी केही वर्ष अघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसी) मा पनि डाइरेक्टर भइकेका छन् भने बैङ्कमा पहिलो पटक बैङ्कको डाइरेक्टरमा चुनिएका हुन् ।

उत्पादनमुलक उद्योगमा सत्रिय रहेका पाण्डेले पछिल्ला केही वर्षयता बैङ्क तथा वित्तीय संस्थामा समेत आफ्नो उपस्थिति बढाउँदै लगेका थिए । खासगरी सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको दरिलो उपस्थिति रहेको छ भने विभिन्न बैङ्क, बिमा कम्पनीमा पनि उनको लगानी छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य समेत रहेको पाण्डेलाई शुक्रबार बसेको साधारणसभाले उनलाई सिटिजन्स बैङ्कको डाइरेक्टरमा चुनेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ ।

उत्पादनमुलक उद्योगबाट मात्रै देशको आर्थिक विकास हुने विश्वास लिएका पाण्डेले उत्पादनमुलक उद्योगलाई मात्रै बढावा दिँदै आएका छन् । उनी कसमस सिमेन्टमा डाइरेक्टर छन् । इस्टन कसमसमा पनि डाइरेक्टरकै भूमिकामा छन् । त्यसैगरी लोमस फर्मास्यूटिकल्समा पनि उनको भूमिका डाइरक्टरकै छ । त्यसैगरी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा पनि पाण्डे आवद्ध छन् । बैङ्क तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ ।

त्यसैगरी, फर्चुना ग्रुपमा पनि पाण्डे डाइरेक्ट छन् । फर्चुना ग्रुपले औषधिको प्याकिङ सामग्री उत्पादन गरिरहेको छ । इन्जिनियरीतर्फ (ब्याचलर अफ इन्जिनियरीङ) अध्यापन सकेका पाण्डे लामो समयदेखि उत्पादन मुलक उद्योगको प्रवद्र्धन र यही क्षेत्रको विकासमा लागेका छन् ।

एक वर्ष अघि मात्रै उनकै सक्रियतामा फर्मा प्याक उद्योग सञ्चालनमा ल्याएका छन् । देशभित्र ठूलो परिमाणमा औषधि प्याक गर्ने प्याकेजिङ सामग्री विदेशबाट आउने गरे पछि आयात प्रतिस्थापन गर्न उनले औषधिलाई आवश्यक पर्ने प्याकेजिङ सामग्री स्वदेशमै उत्पादन गर्न थालेका हुन् । हाल उनको उत्पादन नेपालमा रहेका विभिन्न औषधि उद्योगले लिइरहेका छन, भने विदेशबाट आयात हुन समेत कम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij