काठमाडौं । नेपालको बैंकिङ प्रणाली असुरक्षित बन्दै गएको छ । यो क्षेत्रमा एक पछि अर्को घट्ना घट्दै गएपछि यो क्षेत्र असुरक्षित बन्दै गएको हो । एटीएम प्रकरण घटेको केही समय पनि नवित्दै ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखा लुटेको छ । ह्याकरले बैंकको उक्त शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटेर लगेको प्रहरीले जानकारी दिएको छ ।
सो गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो ।
असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको प्रहरीको भनाई छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
काठमाडौंबाट रकम निकाल्ने १२ जनालाई भने प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिइसकेको छ। ती मध्ये तीन नेपाली भएको बुझिएको छ ।
‘बैंकको सिस्टम नै ह्याक गरेर गिरोहले रकम निकालेको बुझ्नमा आएको प्रहरीको भनाई छ । तर ह्याकरले लुटेको रकम बाहिरिनसकिएको बुझिएको छ ।
बैंकको सिस्टम ह्याक गरेर पैसा लुट्ने ती व्यक्तिको पहिचान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिबारे प्रहरीले खुलाएको छैन। ‘घटनाबारे अनुसन्धान भइरहेको छ र मान्छे नियन्त्रणमा रहेकाले अहिले सबै खुलाउन मिल्दैन,’ प्रहरी स्रोतले भन्यो ।
बैंकको सिस्टम ह्याक कसरी भयो भन्ने विषयमा कृषि विकास बैंक केन्द्रीय कार्यालयले विज्ञको टोली खटाएर अनुसन्धान भइरहेको छ। यस घटनामा बैंक कर्मचारीको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ । प्रहरीले यो प्रकरणमा अनुसन्धान भइरहेको भन्दै घटनाबारे प्रहरीले विस्तृतमा जानकारी दिएको छैन । अनुसन्धान सकिएपछि घटनाको विस्तृत विवरण सार्वजानिक गर्ने प्रहरीले जानकारी दिएको छ ।
यसरी भएको थियो घटना
घटना यही असोज ५ गते आइतबारको हो। बानेश्वरमा रहेको पानस रेमिटबाट केही व्यक्तिहरुले अस्वाभाविक रुपमा पैसा निकालेपछि गतिविधि शङ्कास्पद लागेर कर्मचारीले महानगरीय अपराध महाशाखामा जानकारी गराए।
त्यसपछि खटिएको महाशाखाको टोलीले पैसा निकाल्दै गर्दा केही व्यक्तिलाई पक्राउ गर्यो। उनीहरुसँग सोधपुछ गर्दा नुवाकोटका लवाङ तामाङ घटनामा संलग्न रहेको खुल्न आयो।
खोजतलासका क्रममा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि थप रहस्य खुल्न पुग्यो। उनको साथबाट प्रहरीले रु ३१ लाख बरामद गरेपछि घटनाले अर्कै मोड लियो।
कृषि विकास बैंकको रकम निकालेको पत्ता लागेपछि प्रहरीले जिल्लामा सर्कुलर गरेर प्रहरीलाई ‘हाई अलर्ट’मा बस्न भनियो।
प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने, ‘लवाङसँगको सोधपुछमा विदेशी नागरिक काले भन्ने पिटरसँग उनको सम्बन्ध रहेको जानकारी प्राप्त भएपछि घटनामा ठूलै गिरोह रहेको रहस्य पत्ता लाग्यो र हामीले अनुसन्धानलाई थप तीव्रता दियौँ।’
उनका अनुसार कृषि विकास बैंकमा बुझ्दा करोडौँ रकम विभिन्न व्यक्तिको खातामा पठाई सकिएको फेला पर्यो। त्यो खाताको पैसा लिन आउने सबैलाई नियन्त्रणमा लिन भन्दै बैंकमा सर्कुलर भयो। सोही क्रममा प्रहरीले १२ जना पक्राउ गरेको थापाले जानकारी दिए।
नेपाली नागरिकलाई खातामा जम्मा भएको रकमको १५ देखि ३५ प्रतिशतसम्म दिने र अरू रकम हुण्डीमार्फत भारत पठाउने सर्तमा व्यक्तिको नाममा ह्याकरले पैसा पठाएको खुल्न आएको उनले जानकारी दिए।
सोही प्रक्रिया चल्दै गर्दा प्रहरीले उनीहरुलाई पैसा निकाल्नुअघि नै पक्राउ गरेको थियो। ‘तर पनि ७० लाख भने निकालेको र रु १० लाख भने हुण्डीमार्फत विदेश पठाइसकेको फेला परेको छ अरू पैसा बरामद भएको छ’, महाशाखा प्रमुख थापाले भने।
उक्त घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङ, काठमाडौँ तारकेश्वरका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, झक्तपुरका सुनिता श्रेष्ठ, भारत कोलकाताका सुबन्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ। घटनाका योजनाकार विदेशी नागरिक पिटर भने फरार रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट रकम चार करोड ७३ लाख ९६ हजार ह्याक गरेर व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेको तथा अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी पैसा व्यक्तिको खातामा पठाएको पाइएको छ।
यसरी पैसा निकाल्ने नेपाली सहयोगीलाई १५ देखि ३५ प्रतिशत कमिशन दिई बाँकी रकम हुण्डीमार्फत पुनः भारत भारत लैजाने गरेको समेत खुल्न आएको छ।
पिटरले नेपालका एजेन्टहरूलाई नबिल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई पैसा निकाल्ने गरेको र उनले नेपालबाट पाँच अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ।