ई–आर्थिक, काठमाडौं । नयाँ कामदारका लागि बन्द रेहेको मलेसियाको रोजगार खुल्ला भएको छ । मलेसियाली र नेपाली प्राविधिक कमिटीको मंगलबारदेखि बिहिबारसम्म बसेको ३ दिने बैठकले मलेसिया रोजगारी खोल्ने टुंगो लगाएको हो । विगत १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुल्ला भएको छ।
वैठकमा सहभागी मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार समझदारी अब नेपाली कामदार समझदारी अनुसार नै मलेसिया जान पाउने भएका छन् ।
कामदारलाई समझदारी अनुसार रोजगारीका लागि मलेसिया जान पाउने बाटो खुल्ला भएको पनि उनले जानकारी दिए । स्वास्थ्य संस्थाका सम्बन्धमा भने तत्काल ३६ वटा मेडिकल रहने र नोभेम्बरको पहिलो हप्तामा मलेसियाली टोली नेपाल आइ थप स्वास्थ्य संस्थामाथि अनुगमन गरी छनोट गर्न सकिने सहमति भएको पनि उनले जानकारी दिए ।

१२२ वटै स्वास्थ्य संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरसम्म नयाँलाई स्वीकृति प्रदान गर्नुपर्ने संझौतामा उल्लेख छ । तत्कालका लागि भने ३६ पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिने भएको छ ।
मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थपिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते मलेसिया रोजगारी बन्द गरेका थिए । त्यस यता नेपाली कामदारहरु मलेसिया जान पाएका थिएनन् ।
मलेसिया बन्दसँगै विदेशिनेको संख्या र रेमिटान्समा समेत असर परिरहेको थियो ।
गत वर्षको कात्तिक १२ गते मलेसिया र नेपाल सरकारबीच शून्य लागतमा नेपाली कामदारहरु जान पाउने गरी श्रम समझदारीमा हस्ताक्षर भइसके पनि मेडिकल संस्थाहरुको टुंगो लाग्न नसक्दा मलेसिया रोजगारी सूचारु हुन सकेको थिएन ।
यो संझौतासँगै अव भने नेपाली कामदार शून्य लागतमा मलेसिया जान सक्नेछन् । यद्यपी यसको पालना हुने नहुने प्रतिक्षाको विषय भएको छ ।