छलफलमा श्रम सम्झौतापछि गठन भएको प्राविधिक टोलीले विषयगत रुपमा छलफल गरी कामदार जाने वातावरण तयार गर्ने जनाइएको छ । छलफलमा सहभागी श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरी छलफल केन्द्रित भएको बताए ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्विट्जरल्याण्डमा रहेका सचिव दहालले मलेसियाका मानव संसाधन मन्त्री एम. कुलासेगरनसँग शिष्टाचार भेट गर्दै कामदार माग गर्ने सम्बन्धमा जतिसक्दो चाँडो व्यवस्था गर्न अनुरोध गरेका थिए । मंगलबार साँझ भएको भेटका क्रममा दुइ देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो ।
नेपालको प्रतिनिधिमण्डलमा रहनुभएका मन्त्रालयका सहसचिव घिमिरेले नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरी छलफल भएको बताए । “त्यसका लागि एक महिनाभित्रै दुवै देशको संयुक्त प्राविधिक समितिको बैठक बस्ने निर्णय भएको छ,” उनले भने, “छलफलमा दुवै देशले अहिले सम्म गरेका तयारीका बारेमा जानकारी आदान प्रदान भएको छ ।”
मलेसियाको रोजगारी सुचारु गर्ने सम्बन्धमा केही समयअघि मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम. कुलासेगरबीच पनि छलफल भएको थियो । सो छलफलमा मन्त्री कुलासेगरनले मलेसिया नयाँ स्वास्थ्य संस्था छनोट गरी सिन्डिकेट हटाउने सम्बन्धमा सकारात्मक रहेको जनाउँदै मलेसिया नेपाली कामदार लिन हतारिएको बताएका थिए । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोट प्रक्रिया भइरहेका कारण मलेसियाको रोजगारी सुचारु हुन केही ढिलो भएको हो । नेपालले मलेसियाका लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण र छनोट प्रक्रिया अघि बढाइरहेको छ । मलेसिया सरकारले समेत नेपालले गरेको छनोट प्रक्रियालाई सकारात्मक रुपमा लिएको जनाउँदै आएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोट प्रक्रियामा विगतमा देखिएको सिन्डीकेट हटाउने सम्बन्धमा काम गरिरहेको जनाएको छ । श्रम मन्त्रालय हाल देशभर सूचीकरणमा परेका स्वास्थ्य संस्थाको अनुगमन पूरा गरी मापदण्ड पुगेका संस्थालाई छनोट गर्ने तयारी गरिरहेको छ । मन्त्रालय स्रोतका अनुसार केही दिनभित्र मलेसिया जाने नेपाली श्रमिकको स्वास्य परीक्षण गर्ने संस्थाको नाम सार्वजनिक गर्ने जनाएको छ ।
मलेसिया जाने श्रमिकलाई बिभिन्न शिर्षकमा चर्को शुल्क असुलेको जनाउँदै श्रम मन्त्रालयले एक वर्षअघि मलेसियाको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा आवद्ध संस्था खारेज गरी पारर्दशी प्रक्रियाबाट श्रमिक पठाउन गृहकार्य गर्दै आएको छ । यसबीचमा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपनि स्वास्थ्य परीक्षण गर्ने संस्था पुरानै कायम गरी सिन्डिीकेट कायम हुनुपर्ने चलखेल हुँदै आएको छ ।