ई–आर्थिक, काठमाडौं । काठमाडौं चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगद ३४ लाख ८९ हजार ३ सय रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यसरी पक्राउ पर्नेहरुमा काठमाडौं हात्तीगौडा बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका–२ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका–९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखानी बस्ने २३ वर्षीय सुनिल राई रहेका छन् ।
उक्त ठाउँमा अवैध रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्ल समेतको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट हुण्डी कारोबारमा प्रयोग भएको उक्त बराबरको नगद, कागजात र पैसा गन्ने उपकरण सहित सहित पक्राउ गरेको थियो । थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइने प्रहरीले जानकारी दिएको छ ।