२०८३ भाद्र २७ शनिबार

‘भुकम्पले ध्वस्त विश्व सम्पदा सूचिमा सूचिकृत मध्ये बौद्धनाथ स्तुपा पुनर्निर्माणमा संवभत पहिलो भएको छ’

ई आर्थिक    सोमबार, पौस ११ २०७३
14.8K
Shares
‘भुकम्पले ध्वस्त विश्व सम्पदा सूचिमा सूचिकृत मध्ये बौद्धनाथ स्तुपा पुनर्निर्माणमा संवभत पहिलो भएको छ’

फुबु याङजी लामा

कार्यकारी निर्देशक

श्री बौद्धनाथ क्षेत्र विकास समिति

पिता गुरु लामा च्याङ्वा घिसिङ्ग र माता लाक्पा डोमाको कोखबाट २०२७ साल काठमाडौंमा जन्मनु भएकी फुबु याङजी लामा श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक हुनुहुन्छ । विभिन्न सामाजिक संघ÷संस्थाहरुको महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आउनुभएकी लामा आफ्नो जन्मस्थान बौद्धमा नै कार्यक्षेत्र बनाई सेवा गरिरहनु भएको छ । बुद्ध दर्शन विषयमा स्नातकोत्तर गर्नुभएकी सामाजिक अभियान्ता लामा २०७० सालदेखि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा २०५३ सालमा गठित सो समितिको मन्त्रीस्तरिय निर्णयवाट नियुक्त भई कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँकै कार्यकालमा भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ स्तुपाको पुननिर्माण सम्पन्न भएको छ । भुकम्पले ध्वस्त विश्व सम्पदा सूचिमा सूचिकृत मध्ये बौद्धनाथ स्तुपा पुनर्निर्माणमा संभवत पहिलो हो । सो समितिले हालसम्म के के ग¥यो ? भावि दिनमा के के गर्दैछ ? आदी विषयमा केन्द्रीत रही गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समिति तथा बौद्धनाथ क्षेत्रको एतिहासिक पृष्ठभूमि संक्षेपमा बताईदिनोसन् ?

श्री बौद्धनाथ क्षेत्र विकास समिति २०५३ सालमा गठन आदेश २०१३ बमोजिम सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विश्व सम्पदा सूचिमा सुचिकृत श्री बौद्ध महास्तुपा (महाचैत्य) को संरक्षण र सम्बद्र्धन तथा बौद्ध दर्शन बौद्ध धर्मको प्रचार प्रसार यहाँको ऐतिहासिक पुरातात्विक, धार्मिक, सांस्कृतिक र सामाजिक कार्यको विकासमा अगाडि बढाउनकै लागि गठित विकास समिति हो । यसको आफ्नै मूल्य र मान्यता छ । त्यसैगरी श्री बौद्धनाथ महास्तुपको परम्परादेखि विभिन्न किवदन्तीहरु रहेको पाइन्छ । भगवान बुद्धले निर्माण प्राप्त गरेको केही समय पछि नै झ्याझिमा नामक महिलाले अनुमति लिई महाचैत्य निर्माण गरेको भनाई छ । अर्कोतर्फ महाचैत्य (स्तुप) आफैं उत्पन्न भएको भन्ने भनाई पनि छ । डायनिल राईटद्वारा १९ औं शताब्दीको एक बंशावली अनुसार एक महास्तुप राजा मानदेव प्रथमले सन ४६४ (५०५) मा निर्माण गर्न लगाइएको हो भन्ने देखिन्छ । अतः बौद्धनाथ स्तुपको पृष्ठभूमि पौराणिक तथा ऐतिहासिक सांस्कृतिक र आर्थिक रुपमा महत्वपूर्ण रहेको पाइन्छ ।

यसको संरक्षण र सम्बद्र्धन कसरी हुँदै आएको छ ?

यसको संरक्षण सम्बद्र्धन श्री बौद्धनाथ क्षेत्र विकास समिति आफैंले गर्दै आइरहेको छ । बार्षिक रुपमा कार्ययोजना बनाई युनेस्को र नेपाल सरकार पुरातत्व विभागको सरसल्लाह सुझाब अनुसार नै हामीले नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्देशन अनुसार नै सबै काम हामीले गर्दै आइरहेको छौं ।

बौद्धनाथ क्षेत्रको पुनर्निर्माण कार्य कहाँ पुग्यो ?

यस बौद्ध महास्तुपको मिति २०७२ बैशाख १२, १३ र २९ गतेको विनासकारी महाभूकम्पको कारणले क्षतिग्रस्त डोमभन्दा माथिको त्रयोदश भुवन, छत्रवली समेत जीर्णोद्वारको क्रममा पुरातत्व विभागका प्राविधिक इन्जिनियरको सहयोगमा क्षति भएका भागहरु हटाई पुनर्निर्माण कार्यलाई स्वीकृति लिई श्री बौद्धनाथ क्षेत्र विकास समितिको पहल र अगुवाईमा विभिन्न संघ÷संस्था, सहयोगी दाताहरु, धर्मगुरुहरु र स्थानीय व्यक्तिहरुको सहयोगमा यस कार्यालयका पदाधिकारी तथा सल्लाहकारज्यूहरुको अथक परिश्रम र साँझ विहान, दिन रातको खटाईले पुनर्निर्माण अन्तिम चरणमा पुगिसकेको छ । अब हामी यही मंसिर ३, ४ र ५ गते शुद्धिकरण र प्राण प्रतिष्ठान पुजा बौद्ध धार्मिक परम्परा अनुसार सबै समुदायका पुज्य लामा गुरुबाट गराई मंसिर ७ गते नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको बाहुलीबाट उद्घाटन गराउने अन्तिम चरणको अवस्थामा पुगिसकेका छौं ।

पूर्णरुपमा निर्माण कार्य कहिलेदेखि सम्पन्न हुन्छ ?

वि. सं. २०७३ साल मंसिर ७ गते मंगलबारका दिन समुदघाटन हुने भएपछि हाम्रो पुनर्निर्माण कार्य अब सम्पन्न भएको छ भनेर बुझ्नु पर्ने हुन्छ ।

पू्नर्निर्माणमा के कस्ता समस्या तथा चुनौतिहरु व्यहोर्नु परिरहेको छ ?

हेर्नुहोस् कुनै पनि कार्य गर्दा सहज हुन्छ भन्नु मुर्खता हो । घरको काम गर्दा त बाधा व्यवधान र समस्या आइपर्छन भने यो त राष्ट्रिय अन्तर्राष्ट्रिय अझ् धार्मिक क्षेत्र भएको हुँदा समस्या त कति भए कति ? तर इच्छाशक्ति भएपछि जुनसुकै अफ्ठयारा काम पुरा गर्न सकिदो रहेछ । वर्किङ्ग टिम बलियो भएपछि अठोट पुरा हुदा रहेछ, जुन काम हामीले पुरा गरेका छौं ।

यो नेपालका लागि उदाहरण हो । ढलेको राष्ट्रिय सम्पदाको संरचना हामीले उठाएका छौं । चुनौतिका कुरा गर्दा धेरै ठूलो चाङ्ग बन्दछ । मुद्दा मामला देखि अफावह, आरोप प्रत्यारोप र पित पत्रकारिता समेत भएका छन् । आज हामी हाम्रो निरन्तर दृढ लक्ष्य पुरा गरेका छौं । विगतमा जानुको कुनै औचित्य देखिन्न । सबैको साथ सहयोग नपाएको भए कसरी यति ठूलो कार्य सम्पन्न हुन्थ्यो । हामीले सकारात्मक ढंगले हेर्नु पर्दछ ।

पुनर्निर्माणमा स्थानीय व्यक्तिहरुको समेत सहयोग र सहभागिता रहेको छ भनिएको छ । यो क्षेत्रको विकास र विस्तारमा सरकारको सहयोग चाँही कस्तोे छ ?

हो, सबै पक्षको साथ सहयोग रहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय दाताहरु स्थानीय व्यक्तित्व संघ÷संस्थाको सहयोग रहेको छ । नेपाल सरकारको सहयोग छैन भन्न मिल्दैन । पुरातत्व विभागको प्राविधिक सहयोग रहेको छ । उहाँहरुले यस क्षेत्र विकास समितिलाई विश्वास गरेर नै त सहमति (स्वीकृति) पत्र दिनुभयो र यो महान कार्य पुरा गर्न सकियो । हामी आफैं पनि संस्कृति मन्त्रालय मातहतको विकास समिति भएकाले सरकार नै हौं, निकाय नै सरकारी हो । तथापी आर्थिक पक्ष हेर्दा चाँही विभिन्न आर्थिक व्यक्तित्व संघ÷संस्था लामा गुरुहरु, गैह्र धार्मिक व्यक्तिहरु स्थानिय संघ÷संस्था, व्यक्तिहरु सम्पूर्ण सहयोगी दाताहरुको थोपा थोपा संकलन र व्यवस्थापनमा यो संरचना निर्माण भएको छ । नेपाल सरकारको आर्थिक लगानी अर्थात सरकारी पैसा कतैवाट विनियोजित भएर आएको छैन । हामीले प्राप्त गर्न सकेनौं यो सत्य हो ।

कलात्मक स्तुपा पुनर्निर्माणमा दक्ष जनशक्तिको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

महास्तुप पुनर्निर्माणमा दक्ष कालिगढ र अन्य जनशक्ति बौद्धनाथ क्षेत्र विकास समितिको आफ्नै पहलमा किर्तीपुर, भक्तपुर, ललितपुर र काठमाडौंकै अनुभवि र पुराना दक्ष कालिगढहरु खोजी उहाँहरुलाई उचित पारिश्रमको व्यवस्था गरी निर्माण कार्य पुरा गरेका छौं ।

पुनर्निर्माणको क्रममा ३१ किलो सुन खपत भएको भनिएको छ । अन्य महंगो धातुजन्य चिजहरु कुन–कुन र कति खपत भएको छ ? यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

मूख्यतः गारो तथा पलास्टरको निर्माण कार्य पुरानै ढंगले चुना, सूर्कि, मास, चाकु जस्ता सामानको समिश्रणबाट भएको छ भने तामाको पातामा सुनको मोलम्बा लगाउन धार्मिक गुरुलाई सितुपा रिन्पोछेज्यूको संस्थाले जिम्मा लिइदिनु भयो । उहाँ र उहाँका अनुआयीहरुको सहयोग स्थानीय व्यक्तिहरु अन्य सर्वसाधारण व्यक्तीहरुको समेत दान गरी प्रदान गरिएको सुन कुल ३१ के.जी. खपत भएको विवरण भएको हामीलाई प्राप्त भएको छ । अन्य धातुहरु लगाइएको छैन ।

यो स्थान र क्षेत्रलाई आम नेपाली तथा विश्वका पर्यटकहरुले कुन रुपमा लिएको पाउनुभएको छ ?

यो स्थान र क्षेत्रलाई नेपाल लगायत विश्वका बौद्ध धार्मिक व्यक्तिहरुले ज्ञान र पवित्र धार्मिक थलोको रुपमा हेर्दछन् । अझ् यसलाई अध्ययन अनुसन्धान गर्न समेत आउने हुँदा यो खुल्ला विश्व विद्यालय पनि हो । कसैले शान्तिको अनुभुति गर्न आएको समेत देखिन्छ । विशेष धार्मिक क्षेत्र विश्व सम्पदा सूचिमा रहेकोले घुम्न अध्ययन गर्न र हेर्न समेत आएको देखिन्छ ।

दैनिक कति पर्यटकहरु यस क्षेत्रमा दर्शन गर्न आउँछन् ? कस्ता र कहाँका पर्यटकको आकर्षण बढी रहेको छ ?

यस क्षेत्रमा सार्क क्षेत्रबाट र अन्य मुलुकबाट दैनिकरुपमा हजारौं जना पर्यटकहरु आएको देखिन्छ । बार्षिक रुपमा भने लाखौं पर्यटकहरु यस क्षेत्रमा आउने गर्दछन् ।

समितिले पर्यटकहरुलाई के कस्ता सुविधाको व्यवस्थापन गरिदिएको छ ?

समितिले पर्यटकहरुलाई बौद्धनाथ क्षेत्रको बारेमा जानकारी दिने पर्चा, पप्लेट, ब्रोसर आदी वितरण गर्ने गरेको छ । ती जानकारीमुलक पर्चा सामाग्रीमा बौद्ध स्तुपाको वारेमा यहाँको गुम्बा, मठ्मन्दिर क्षेत्र, सास्कृतिक धार्मिक केन्द्रहरु र बौद्ध महास्तुपको वारेमा जानकारी गराइएको छ । सुरक्षामा ध्यान दिई उच्च प्राविधि सीसी क्यामेराको सहायताले अनुगमन गरेको छ । माग्ने र पर्यटकलाई दुःख दिनेहरुलाई निरुत्साहित गरेको छ । अत्यावश्यक भिडभाड हटाइएको छ । पर्यटकलाई खुला बातावरणमा घुमफिर अध्ययन, अनुसन्धान गर्ने वातावरण मिलाइएको तपाईको पत्रिका मार्फत जानकारी गराउँदछु ।

अझै पर्यटक बढाउन यो क्षेत्रलाई के–के कामहरु गर्नुपर्छ जस्तो लाग्छ ?

सबै कामहरु एकैपटक पुरा हुदैनन् । प्रविधिको जमाना छ । नयाँ–नयाँ कुराहरु आइरहन्छन् । समाज जति विकसित हुदै जान्छ । त्यति नै समस्याहरु आइपर्छन् । हामीले क्रमशः आवश्यकतालाई हेर्दै नयाँ योजनालाई तयार गर्दछौं । चुनौति र समस्या नभएका होइनन् । लामो अवधिसम्म बस्ने पर्यटकलाई विशेष प्राथमिकता दिएर राख्न सकिए बौद्ध दर्शन धर्म बारे अझ् व्यापक प्रचार प्रसार हुन सक्छ । पर्यटकलाई खान बस्न, अध्ययन अनुसन्धान गर्न, पारिवारिक वातावरण तयार गर्न स्तरिय होटलहरु शान्त वातावरणको लागि राम्रा स्थानहरुको आवश्यकता छन् । क्रमशः व्यवस्था निजीक्षेत्रसँग सहकार्य गर्दैछौं ।

समितिको आम्दानी र खर्चको अवस्था कस्तो रहेको छ ?

समितिको आम्दानी र खर्च भन्ने कुरा आवश्यकता अनुसार हुन्छ । एकिन यही हो भनेर डाटा दिन गाह्रो छ । मुलतः हाम्रो आम्दानी भनेकै पर्यटक आगमन शुल्क हो । जसवाट कर्मचारी र कार्यालय व्यवस्थापन, विभिन्न जात्रा पर्व, पूजा आदि कार्य समेत गरिन्छ । आर्थिक बर्ष वि. सं. २०७३÷०७४ को अनुमानित बजेट अनुसार रु. १६,९१,२७,४५०÷– रहेको छ । विभिन्न कार्यक्रमले गर्दा खर्च पनि सोही अनुसारको हुने व्यवस्था गरिएको छ ।

यो समितिका भावि योजना तथा कार्यक्रमहरु के कस्ता रहेका छन् ?

यो समितिका भावि योजना भन्नाले हामीले प्रत्येक बर्ष आवश्यकता अनुसार क्रमशः नयाँ–नयाँ योजना र कार्यक्रम तय गरी बार्षिक बजेट बनाई नेपाल सरकार सम्बन्धित मन्त्रालयबाट स्वीकृत गराई कार्यक्रम पुरा गर्दै लैजाने गरेका छौं । महास्तुप र घ्योइलिसाँग शान्ति वाटिका (पोखरी) को निर्माण पश्चात अव बौद्ध धर्मालम्बीहरुको धर्मशाला निर्माणको लागि घरजग्गा खरिदको तयारीमा छौं । त्यसैगरी हाम्रो कार्यक्षेत्र अनुसार काठमाडौं महानगरपालिका वडा नं. ६ भरी उज्यालोको लागि सौर्य उर्जा अन्तर्गत सडकमा बत्तिको व्यवस्थापन गर्नेछौं । ६ नं. वडा महाकालमा रहेको सार्वजानिक खाली जग्गामा राष्ट्रियस्तरको पार्क निर्माण गर्नेछौं । विभिन्न ठाउँको यसमा पनि ६ नं वडाभर रहेका जिर्ण मठ्मन्दिर, धारा, कुवा, पाटी पुनर्निर्माण कार्यहरु, सामुदायिक विद्यालयको स्तरनोत्तर, सार्वजानिक बाटो, ढल व्यवस्थापन, महाबौद्ध स्तुप वरीपरी, अव्यवस्थित विद्युतलगायतका तारहरु व्यवस्थापन गर्दै जानेछौं । बार्षिक बजेट कार्यक्रमअनुसार नै पुरा गर्दै जाने कार्य योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij