व्यापार व्यवसाय सुरु गर्दाका दिनमा स–साना काममा पनि अल्छी नमानी लाग्ने विमला अहिलेसम्म आइपुग्दा कुखुरापालन र कुखुरको मासु बिक्री गर्ने काममा तल्लिन छिन् । उनले अहिले मनग्य आम्दानी आर्जन गरिरहेकी छन् ।
मेहनती महिलाका रुपमा परिचित विमलाले अहिले घरैमा कुखुरा फार्म खोल्नुका साथै फ्रेस हाउस समेत खोलेकी छन् । विदेश पठाएका श्रीमानलाई पैसा कमाउनु त कता हो कता उल्टै ऋण खोजेर नेपाल फर्काउनु परेकी दुःख उनीसँग छ ।

‘भोकभोकै कैयौँ रात सुतेकी छु, तै पनि मैले हरेस खाइनँ, काममा लागिरहेँ’, उनले भनिन्, ‘पहिलोपटक एउटा लघुवित्त कार्यक्रममा सहभागी भएर समूहमा आबद्ध भएपछि पाँच हजार रुपैयाँ कर्जा लिई जुत्ता चप्पल व्यापार सुरु गरे ।’ जुत्ता चप्पल बेच्न साइकलमा पोका बोकेर बयरवन, रमाइलोलगायत बजारसम्म पुगेको उनी सम्झिन्छिन् ।
मासिक रु ५० हजारभन्दा बढी कमाइ गर्न थालेपछि अहिले उनको जीवनशैली फेरिएको छ । उनको व्यापार पथरी शनिश्चरेमा मात्र सीमित छैन । इटहरीसम्म फैलिएको छ । ‘अहिले आफूलाई मात्र होइन अरुलाई पनि आत्मनिर्भर गराउन सक्ने अवस्थामा छु,’ उनले भनिन् ।
विमलालाई काममा श्रीमानले सघाउँछन् । उनीहरुसँग एउटा मारुती भ्यान छ । जसको माध्यमबाट श्रीमान् महेश भण्डारीले कुखुरा बिक्रीका लागि इटहरीसम्म जान्छन् ।
यसैबीचमा उनले दुई कट्ठा जमिन जोड्न भ्याएकी छन् । ठूली छोरीको बिहे गर्न खर्च जुटाइन् । उनले भनिन्, ‘अरु दुई छोरी र एउटा छोरो राम्रै स्कूलमा पढाइरहेको छु ।’ रासस