२०८३ भाद्र २७ शनिबार

बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

ई आर्थिक    सोमबार, असोज ३० २०७४
4.2K
Shares
बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

३० असोज, खोटाङ । चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विवाहको प्रलोभन देखाएर लामो समयदेखि जबर्जस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राख्ने कटवालविरुद्ध पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा असोज २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।

“पक्राउ परेका कटवालले घटनाबारे स्वीकारिसकेका छन्” उनले भने,“हिरासतमा राखिएका कटवालविरुद्ध जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।”

जिल्लाका उत्तरी क्षेत्रकी पीडित बालिकाको आमाले दिक्तेलस्थित कार्यालयमा आएर २७ गते उजुरी दिएपछि कटवाललाई रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नासाथ २९ गते नै जिल्ला अदालत खोटाङमा लगेर पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका कटवालले गत भदौ २३ गते बालिकालाई घरैबाट अपहरण गरेर गाईघाट लगी बन्धक बनाएर राखेको उजुरीमा उल्लेख छ । गाईघाटस्थित एउटा घरमा राखेर पटक–पटक करणीको शिकार बनेकी बालिका नौ दिनपछि भदौ ३१ गते भाग्न सफल भएको आफन्तले जनाएका छन् ।

पीडित बालिकाको छिमेकी एक महिलाले ललाइफकाई कटवालसँग सम्पर्क गराइदिएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिका अपहरणमुक्त भएपछि फरार रहेकी महिलाविरुद्ध समेत मुद्दा दर्ता गरेर खोजी कार्य सुरु गरिएको प्रनाउ थापाले जानकारी दिए ।

जबर्जस्ती करणी गर्नेलाई छदेखि १० वर्ष, अपहरण तथा शरीर बन्धक बनाउनेलाई सातदेखि १५ वर्ष कैद भुक्तानी गराउनुपर्ने व्यवस्था छ । नाबालिका भएको हकमा थप दुई वर्ष कैदसँगै क्षतिपूर्तिसमेत भराउने व्यवस्था रहेको प्रनानी यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij