२०८३ साउन ९ शनिबार

साइप्रसमा नेपालीमाथि शोषण : घर छाडेका ११ युवती सेल्टरमा

ई आर्थिक    सोमबार, असोज २ २०७४
4K
Shares
साइप्रसमा नेपालीमाथि शोषण : घर छाडेका ११ युवती सेल्टरमा

२ असोज, काठमाडौं । झापाकी रीना तितुङ ४ लाख रुपैयाँ खर्च गरेर घरेलु कामदार (हाउसमेड) का रूपमा युरोपेली मुलुक साइप्रस पुगिन् ।

त्यहाँ भनेजस्तो काम नपाएपछि उनी धेरै पैसा खर्च गरेकोमा पछुताइरहेकी छन् । ‘जेजस्तो सर्त र करारमा आएकी थिएँ, केही भएन । मालिकले उल्टै यातना दिन थालेपछि छाडेकी छु,’ उनले भनिन्, ‘न नेपाल फर्किन सक्छु, न यतै बस्न सक्छु ।’

भूमध्यसागरको टापुमा रहेको साइप्रसमा रीनाजस्तै यातना र शोषणमा परेर थुप्रै नेपालीले आफ्नो स्पोन्सर छाड्न थालेका छन् । राजधानी निकोसियाको एउटा चर्चमा रहेको सेल्टरमा मात्रै यसरी काम गर्ने घर छाडेका ११ जना नेपाली महिला आश्रित छन् । ‘धेरै लगानी गरेर आएको हुँदा उनीहरू यत्तिकै नेपाल फर्किन चाहँदैनन्,’ साइप्रसमा कन्सुलर सेवा दिन पुगेका इजरायलस्थित नेपाली दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले भने, ‘मालिकले तलब नदिएको, यातना दिएको र काम गर्ने समय निश्चित नभएको जस्ता समस्याबाट उनीहरू पीडित छन् ।’

नेपालका म्यानपावर कम्पनीले चर्को रकम असुलेर साइप्रसका म्यानपावर कम्पनीलाई पठाउने गरेका छन् । साइप्रसका कम्पनीले मागअनुसार घरघरमा कामदार पठाउँछन् । नेपालका एजेन्टले साइप्रसका एजेन्टलाई एउटा कामदार पठाएबापत एक हजारदेखि १४ सय डलरसम्म कमिसन दिनुपर्छ । कमिसन रकम कामदारसँगै पठाउने गरिन्छ । त्यहाँ तीनवटासम्म स्पोन्सर परिवर्तन गर्न पाउने कानुनी सुविधा रहेकाले स्पोन्सर छोडेका महिलाहरू नयाँ कामको खोजी छन् । ‘नयाँ काम पाउन अलि कठिन नै छ । काम पाएबापत एजेन्टलाई कमिसन दिनुपर्छ,’ एक पीडित युवतीले भनिन् ।

पीडित महिलाका अनुसार वैदेशिक रोजगार विभागले ३ सय ९ युरो (झन्डै ३७ हजार रुपैयाँ) न्यूनतम तलब पाउने भन्दै श्रम स्वीकृति दिएको थियो । ‘तोकिएको तलब नपाएपछि घर छाडेको हुँ,’ एक पीडितले भनिन्, ‘यहाँ थप समस्या पर्ला भन्ने डरले झुक्याउने म्यानपावरविरुद्ध उजुरी दिएको छैन ।’ म्यानपावर व्यवसायीले आकर्षक गन्तव्य भन्दै कामदार पठाउन थालेपछि पछिल्ला वर्ष साइप्रसमा काम गर्न जाने महिलाको संख्या बढेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा मात्र १५ सय ६२ कामदार साइप्रस गएका थिए, जसमा ११ सय ६४ महिला कामदार थिए । आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij