२०८३ असोज १५ बिहिबार

गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी गरिदै

ई आर्थिक    बिहिबार, असोज १५ २०८३
551
Shares
गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी गरिदै

काठमाडौं । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ।

रसुवासँग जोडिने प्रमुख सडकमार्गका रूपमा रहेको उक्त सडकखण्डमा ट्रयाक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताउनुभयो।

सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारी आवतजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले निर्माण कार्यलाई सहज बनाउन आवश्यक सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ।

यसैबीच, ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ।

त्यस्तै, रसुवातर्फ बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसनको काम पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।

बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्रयाक खुलेसँगै यातायात सञ्चालनमा सहजता आउने तथा बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij