बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानका खेतसम्म सिँचाइ सुविधा पुर्याउन शाखा तथा उपशाखा नहर विस्तारको काम अघि बढाएको छ।
खजुरा र बैजनाथ गाउँपालिकाका थप क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा तथा उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको हो।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत असोज ८ गते सूचना प्रकाशित गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम आवश्यक जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको हो।
खजुरा र बैजनाथका यी क्षेत्रमा अधिग्रहण
आयोजनाका अनुसार खजुरा गाउँपालिकाका वडा नं. १, २, ५, ८ र ९ तथा बैजनाथ गाउँपालिकाका वडा नं. ५ र ६ अन्तर्गत पर्ने विभिन्न स्थानको जग्गा अधिग्रहण गरिनेछ।
खजुरा क्षेत्रमा साविक राधापुर, सीतापुर, उढरापुर र रनियापुर गाविसअन्तर्गतका विभिन्न वडामा पर्ने जग्गा अधिग्रहणमा पर्नेछन्। त्यस्तै, बैजनाथका साविक वनकटवा गाविसअन्तर्गत वडा नं. ४ र ५ मा पर्ने जग्गासमेत अधिग्रहण गरिने आयोजनाले जनाएको छ।
सम्बन्धित जग्गाधनी वा कानुनबमोजिमका वारिसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय बाँके वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिएर मुआब्जा दाबी गर्नुपर्नेछ।
अधिग्रहण गरिने जग्गामा घर, गोठ, पर्खाल, रुख तथा बिरुवा लगायतका संरचना वा वस्तु भएमा निवेदनमा त्यसको विवरण खुलाउनुपर्नेछ। त्यस्ता संरचना तथा रुखबिरुवा बढीमा एक महिनाभित्र हटाएर जग्गा खाली गर्नुपर्ने सूचनामा उल्लेख छ।
४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरमार्फत राप्ती नदीको पश्चिम भेगमा रहेको ३३ हजार ७६६ हेक्टर तथा पूर्वी मूल नहरमार्फत नदीको पूर्वी भेगमा रहेको करिब ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ।
आयोजनाले कुल ४२ हजार ७६६ हेक्टर जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। हाल करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए।
बजेट पनि बढ्यो
सिक्टा सिँचाइ आयोजनाका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा २ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा आयोजनाका लागि १ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयोजनाको बजेट करिब १ अर्ब रुपैयाँले बढेको छ।
आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण तीव्र गतिमा भइरहेको छ। सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहरका लागि ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको छ।
गुरुवागाउँ र अकलघरवा शाखा तथा उपशाखा नहरसँगै पूर्वी मूल नहरका बाँकी काम अघि बढाउन पूर्वतयारीका कामसमेत भइरहेको आयोजना निर्देशक आचार्यले बताए।