२०८३ असोज ११ आइतबार

पितृको तिथिमा गर्ने ‘सोह्र श्राद्ध’ आजदेखि सुरु

ई आर्थिक    आइतबार, असोज ११ २०८३
228
Shares
पितृको तिथिमा गर्ने ‘सोह्र श्राद्ध’ आजदेखि सुरु

काठमाडौं । हिन्दू धर्मावलम्बीले पितृलाई सम्झेर श्रद्धापूर्वक तर्पण, सिदादान तथा पिण्डदान गर्ने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु हुँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज आश्विन कृष्ण प्रतिपदा तिथि परेको छ। यस दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने धर्मशास्त्रीय व्यवस्था रहेको समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने विभिन्न तिथिमा दिवंगत पितृको सम्झनामा श्राद्ध गरिने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ भनिएको हो। यस अवधिलाई ‘पितृ पक्ष’, ‘अपर पक्ष’ तथा ‘प्रेत पक्ष’ समेत भन्ने गरिन्छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा अन्य शुभकार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झिने प्रचलन छ। यस अवधिमा पितृ आफ्ना सन्तानबाट गरिने श्राद्ध तथा तर्पणको अपेक्षामा रहने धार्मिक मान्यता छ।

सोह्र श्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ।

तिथिअनुसार श्राद्ध गर्नुपर्ने

धर्मशास्त्रीय मान्यताअनुसार दिवंगत पितृको जुन तिथि हो, सोही तिथिमा श्राद्ध गर्नुपर्ने व्यवस्था छ। तर कुनै कारणवश निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा विभिन्न वैकल्पिक तिथि र विधि शास्त्रमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्।

आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था रहेको प्रा. डा. भट्टराईले बताए। त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प रहेको छ।

कार्तिक कृष्ण औँसीमा समेत गर्न नसकिए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने व्यवस्था धर्मसिन्धुलगायतका धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको बताइएको छ।

त्यस्तै, आश्विन शुक्ल पञ्चमीपछि पर्ने अष्टमी, द्वादशी र औँसी तथा भरणी नक्षत्र र व्यतीपात योग परेका दिन रोकिएको श्राद्ध गर्न सकिने विकल्पसमेत धर्मशास्त्रीय ग्रन्थमा रहेको प्रा. डा. भट्टराईले जानकारी दिए।

श्राद्ध बिहान नभई अपराह्नमा

धर्मशास्त्रविद्हरूले सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने बताएका छन्। पितृको तिथिमा श्राद्ध गर्नुपर्ने भए पनि कतिपय स्थानमा पुरोहितले आफ्नो अनुकूलताअनुसार बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको पाइएकाले त्यस्तो अभ्यास शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।

कारणवश निर्धारित समयमा श्राद्ध गर्न नसकिए शास्त्रमा वैकल्पिक विधिसमेत उल्लेख गरिएको छ। सबै विकल्प समाप्त भएपछि पनि श्राद्ध गर्न नसकिए आफैँ वा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने व्यवस्था रहेको बताइएको छ। यस्तो जप विधिपूर्वक १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास छ।

सोह्र श्राद्धपछि पितृ पक्ष समाप्त भई दुर्गा पक्ष अर्थात् बडादसैँको क्रम सुरु हुन्छ। बडादसैँजस्ता ठूला पर्वअघि पितृ तृप्तिका लागि श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहिआएको छ।

यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँलगायतका पर्वहरू अघिल्ला वर्षको तुलनामा केही पछि सरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij