२०८३ असोज १० शनिबार

बाढीपहिरोको जोखिम बढ्यो, २५ जिल्लामा सवारी आवागमन रोक

ई आर्थिक    शनिबार, असोज १० २०८३
361
Shares
बाढीपहिरोको जोखिम बढ्यो, २५ जिल्लामा सवारी आवागमन रोक

काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। नदी तथा खोलामा पानीको बहाव बढेसँगै तटीय बस्तीहरू जोखिममा परेका छन् भने पहाडी क्षेत्रमा बाढीपहिरो र लेदोका कारण सडक तथा यातायात प्रभावित भएको छ।

जोखिम बढेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिमको स्तरअनुसार जिल्लाहरू वर्गीकरण गरी यातायात व्यवस्थापन गर्न भनिएको छ। सवारी आवागमन पूर्ण रूपमा रोकिएका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्।

त्यस्तै, लुम्बिनी प्रदेशका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि दुई दिन सवारी आवागमन रोक्न भनिएको छ।

३० जिल्लामा राति सवारी सञ्चालनमा रोक

अत्यधिक वर्षाको सम्भावना रहेका थप ३० जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न निर्देशन दिइएको छ। थप २२ जिल्लामा वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

जोखिममा कोशी र मधेश प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुली पनि परेका छन्।

बाढीपहिरोबाट मानवीय तथा भौतिक क्षति

मकवानपुरगढीमा खोलाले बगाउँदा ५० वर्षीय श्यामबहादुर स्याङ्तानको मृत्यु भएको छ।

भक्तपुरको लोकन्थलीमा हनुमन्ते खोलाको बाढीबाट डुबानको जोखिम बढेपछि १६ घरपरिवारका ९८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। नवलपरासी पश्चिममा नारायणी नदीको पानी बस्तीमा पसेपछि करिब ४०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकामा मनोहरा, बागमती र विष्णुमतीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको नेपाल प्रहरीले जनाएको छ।

रसुवा, धादिङ, चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड, काभ्रेको रोसी गाउँपालिकालगायतका क्षेत्रमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको छ। सिन्धुलीमा रोसी खोलाको बाढीले बस्ती प्रभावित भएको छ भने ओखलढुङ्गाका विभिन्न स्थानमा लेदोसहितको बाढीका कारण आवतजावतमा कठिनाइ भएको छ।

मनाङको चामे–बेँसीसहर सडक, गुल्मीको सिस्नेभिर–रुद्रबेनी–वामीटक्सार तथा रोल्पाको घोराही–थबाङ–रुकुम सडकखण्डका विभिन्न स्थान पनि बाढीपहिरोका कारण प्रभावित भएका छन्।

पाल्पामा पहिरोले दुई घरमा क्षति पुर्‍याउनुका साथै एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ। सोलुखुम्बुमा बाढीपहिरो तथा हिमपहिरोको जोखिममा रहेका ३८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

२६ हजार सुरक्षाकर्मी उद्धारका लागि तयारी अवस्थामा

चार दिनसम्म वर्षा हुने पूर्वानुमानपछि सरकारले सम्भावित बाढी, पहिरो र डुबानबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सुरक्षा तथा उद्धार संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ।

विपत् आइपरेलगत्तै खोज तथा उद्धार, राहत र उपचारमा परिचालन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब २६ हजार सुरक्षाकर्मी आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएका छन्।

नेपाली सेनाले काठमाडौं, सुर्खेत, धनगढी र रुपन्देहीमा हवाई उद्धार टोलीलाई आवश्यक हवाई साधनसहित तयारी अवस्थामा राखेको छ। सेनाका सबै पृतना तथा गणलाई उच्च सतर्क अवस्थामा राखिएको छ भने थप ७ हजार ५२४ जनाको विपत् प्रतिकार्य टोली तयारी अवस्थामा रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो।

सम्भावित विपत्का घाइतेको तत्काल उपचारका लागि वीरन्द्र सैनिक अस्पताल छाउनी तथा सातै प्रदेशका सैनिक फिल्ड अस्पतालमा आकस्मिक स्वास्थ्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा १० हजार ५८५ सुरक्षाकर्मी परिचालन गरेको छ। उद्धारका लागि ८२ वटा र्‍याफ्ट बोट, ५३ वटा मोटरबोट तथा तालिमप्राप्त गोताखोर, मेडिकल र ड्रोन टोलीसमेत तयारी अवस्थामा राखिएको प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो।

नेपाल प्रहरीले पनि ८ हजार ११० प्रहरीलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ।

नदी तटीय क्षेत्रमा पूर्वसूचना अभियान

बागमती प्रदेशका रोसी, सुनकोशी, त्रिशूली र इन्द्रावती तथा मधेश प्रदेशका कमला, चारनाथ, बलान र बिहुल नदीका तटीय क्षेत्रमा माइकिङ तथा पूर्वसचेतना अभियान सञ्चालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकाका १८ नगरपालिकाले पनि डुबान तथा पहिरोको जोखिम भएका क्षेत्रमा पूर्वतयारी तीव्र पारेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थालाई उच्च सतर्क अवस्थामा राख्दै जोखिमयुक्त जिल्लामा औषधि, स्वास्थ्य सामग्री र आवश्यक जनशक्ति पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij