२०८३ असोज ९ शुक्रबार

घरबाहिर ननिकाल्न काठमाडौं महानगरको आग्रह, अविरल वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित

ई आर्थिक    शुक्रबार, असोज ९ २०८३
114
Shares
घरबाहिर ननिकाल्न काठमाडौं महानगरको आग्रह, अविरल वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित

काठमाडौं ।  अविरल वर्षाका कारण फोहोर ढुवानी गर्ने सडक तथा ल्यान्डफिल साइटमा लेदोसहितको माटो खस्न थालेपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि घरबाट फोहोर बाहिर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ।

महानगरपालिकाका अनुसार लगातारको वर्षाका कारण फोहोर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको छ। यसका कारण केही समय फोहोर संकलन तथा ढुवानी सेवा प्रभावित हुन सक्ने भएकाले घरधनी, व्यवसायी तथा महानगरवासीलाई फोहोर सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरिएको हो।

महानगरले घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न अनुरोध गरेको छ।

फोहोर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहोर आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा राख्न महानगरले आग्रह गरेको छ। साथै, सड्ने तथा जैविक फोहोर र नसड्ने फोहोर छुट्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्नसमेत अनुरोध गरिएको छ।

महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्न सक्ने जनाएको छ। त्यसैले वर्षाको समयमा फोहोर व्यवस्थापनमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

वर्षा तथा ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij