२०८३ असोज ९ शुक्रबार

वर्षासँगै बढ्यो जोखिम: नागढुंगामा सवारीसाधन होल्ड, वर्षाका कारण यात्रु प्रभावित

ई आर्थिक    शुक्रबार, असोज ९ २०८३
513
Shares
वर्षासँगै बढ्यो जोखिम:  नागढुंगामा सवारीसाधन होल्ड, वर्षाका कारण यात्रु प्रभावित

काठमाडौं । लगातार भइरहेको वर्षासँगै सम्भावित बाढीपहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा होल्ड गरिएको छ।

बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन नागढुंगामै रोकिएको जनाइएको छ। वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने, ढुंगा खस्ने तथा सडकमा लेदो आउने जोखिम रहेकाले सुरक्षाका लागि सवारीसाधन रोकिएको हो।

नागढुंगा हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने लामो दूरीका बस तथा मालवाहक सवारीसाधनसमेत होल्डमा परेका छन्। सवारीसाधन रोकिएपछि यात्रु तथा चालक प्रभावित भएका छन्।

सम्बन्धित निकायका अनुसार सडकको अवस्था र मौसममा सुधार आएपछि सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयबीच समन्वय गरी सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइनेछ। सडकमा जोखिमको अवस्था कायमै रहेसम्म सवारी सञ्चालन गर्न नदिने तयारी गरिएको छ।

लगातारको वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्न आग्रह गरिएको छ। साथै, अत्यावश्यकबाहेक अनावश्यक यात्रा नगर्न र लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण सडकमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले यात्रुले मौसम तथा सडकको अवस्थाबारे आधिकारिक सूचना लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij