२०८३ असोज ९ शुक्रबार

अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौंमा सार्वजनिक सवारी रोकिए

ई आर्थिक    शुक्रबार, असोज ९ २०८३
437
Shares
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौंमा सार्वजनिक सवारी रोकिए

काठमाडौं ।  बिहीबारदेखि देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण पहिरो र बाढी आउँदा काठमाडौं जोड्ने प्रमुख राजमार्गसहित देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। राजमार्ग बन्द भएपछि विभिन्न जिल्लाबाट काठमाडौं आएका तथा काठमाडौं हुँदै बाहिरिनुपर्ने सार्वजनिक सवारीसाधन उपत्यकामै रोकिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका  अनुसार पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन्। काठमाडौं–हेटौँडा जोड्ने फर्पिङ सडक भने सञ्चालनमा रहेकाले साना सवारीसाधन आवतजावत गरिरहेका छन्।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले बिहीबार साँझदेखि नै गोंगबुस्थित नयाँ बसपार्कमा सार्वजनिक सवारीसाधन रोकिएको जानकारी दिए। उनका अनुसार बाढी र पहिरोका कारण काठमाडौं जोड्ने अधिकांश राजमार्ग अवरुद्ध भएपछि बाहिर जाने सवारीसाधन बसपार्कमै रोकिएका छन्।

काठमाडौं उपत्यकामा समेत बिहीबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी करिडोरमा सवारीसाधन नरोक्न तथा पार्किङ नगर्न माइकिङमार्फत सचेत गराइरहेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि भारी वर्षाका कारण राजमार्गमा पहिरो तथा बाढीको जोखिम बढेको भन्दै चालक तथा व्यवसायीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले सुरक्षा निकायसँग समन्वय गरेर मात्रै आवतजावत गर्न आग्रह गरेका छन्।

लगातारको वर्षाका कारण ललितपुरतर्फका विभिन्न स्थानमा पहिरो खस्दा कान्ति लोकपथसमेत अवरुद्ध भएको छ। मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीका अनुसार कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेपछि हेटौँडाबाट उक्त मार्ग हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ।

पृथ्वी राजमार्ग र नारायणघाट–मुग्लिन सडकखण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन रोकिएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेको र थप जोखिमसमेत रहेकाले सडक बन्द गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएकोमा निरन्तर वर्षा भइरहेकाले अर्को सूचना जारी नभएसम्म सडक बन्द गरिएको हो। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि चितवन खण्डमा समेत सवारी आवागमन रोकिएको छ।

नारायणघाट–मुग्लिन सडक हुँदै दैनिक १० हजारभन्दा बढी तथा पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेको बताइएको छ। सडक बन्द भएपछि सयौँ सवारीसाधन विभिन्न स्थानमा रोकिएका छन्।

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक पनि अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बिहान पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही गाउँपालिका–४ हुँदै बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा थप प्रभावित भएको छ।

सडक अवरुद्ध भएपछि बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ जाने सवारीसाधन तथा यात्रु बाटोमै रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण बिपी राजमार्ग पनि विभिन्न स्थानमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ४ः३० बजे रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा सवारी आवागमनसमेत रोकिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

वर्षा, बाढी तथा पहिरोको अवस्था मूल्यांकन गरी आवश्यक परे दिउँसोसमेत सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ। राजमार्गको अवस्था बुझेर मात्रै दिनको समयमा यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

यस्तै, ओखलढुंगाको सिद्धिचरण लोकमार्ग पनि लगातारको वर्षाका कारण अवरुद्ध भएको छ। मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आएपछि सडकमा क्षति पुगेको हो।

बाढीले सडकको भाग कटान गरी करिब १५ मिटर सडकमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको भए पनि तत्काल सडक सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासन तथा सुरक्षा निकायले अत्यावश्यक अवस्थामा बाहेक लामो दूरीको यात्रा नगर्न र राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij