२०८३ असोज ९ शुक्रबार

प्रधानमन्त्री शाहको अपिल : ‘सावधान रहौँ, सुरक्षित रहौँ’

ई आर्थिक    शुक्रबार, असोज ९ २०८३
133
Shares
प्रधानमन्त्री शाहको अपिल : ‘सावधान रहौँ, सुरक्षित रहौँ’

काठमाडौं।  देशका विभिन्न स्थानमा वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको सम्भावना औँल्याएपछि प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत पूर्वसावधानी र सतर्कता नै विपद् व्यवस्थापनको मुख्य आधार भएकाले सम्भावित जोखिमबाट जोगिन आग्रह गरेका हुन्। उनका अनुसार सरकारले सम्भावित बाढी, पहिरो, नदी कटान तथा अन्य विपद्का जोखिमलाई ध्यानमा राख्दै सबै मन्त्रालय र मातहतका निकायलाई पूर्वतयारी तथा प्रतिकार्यका लागि परिचालन गरेको छ।

सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरेको छ। जिल्ला सुरक्षा समितिको बैठक बसेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको तथा नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्रीले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न र अनावश्यक लामो दूरीको यात्रा नगरी सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। राजमार्गका सुरक्षा जाँच चौकीले अघिल्लो चेकपोस्टसँग समन्वय गरी सडकखण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारीसाधन अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको उनले जानकारी दिएका छन्। जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्नसमेत निर्देशन दिइएको छ।

सम्भावित बाढी, पहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै एक्स्काभेटर, लोडर र डोजरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालयलाई चौबिसै घण्टा सक्रिय रहन र सडकको अवस्था खुला वा अवरुद्धबारे नियमित सूचना सार्वजनिक गर्न निर्देशन दिइएको छ।

हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीलाई समन्वय गर्न आग्रह गरिएको छ। होटल व्यवसायी तथा स्थानीय बासिन्दालाई सुरक्षित बासस्थान र आवश्यक सहयोग उपलब्ध गराउन पनि अनुरोध गरिएको छ। मौसमअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।

सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक राखी आवश्यक पूर्वतयारी गर्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न भनिएको छ। प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन तथा सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रसेवक कर्मचारीलाई सम्भावित विपद् प्रतिकार्यमा तत्पर रहन निर्देशन दिइएको प्रधानमन्त्रीले बताएका छन्।

विद्यालयको हकमा विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार असोज ९ गते पठनपाठन सञ्चालन नगर्न सकिने व्यवस्था गरिएको छ। यस अवधिमा तोकिएका परीक्षा पनि आवश्यकता हेरी सम्बन्धित विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायले स्थगित गर्न सक्ने जनाइएको छ।

प्रधानमन्त्री शाहले अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष आग्रह गरेका छन्।

स्वास्थ्यतर्फ सबै अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई समेत सक्रिय अवस्थामा राखिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा आवश्यक खाद्यान्न मौज्दात कायम गर्न निर्देशन दिइएको छ। राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। मौसमको अवस्था देखाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्नेविरुद्ध कडा कारबाही गर्न बजार अनुगमनलाई तीव्रता दिन निर्देशन दिइएको छ।

सरकारले दूरसञ्चार सेवामार्फत नागरिकलाई मौसमसम्बन्धी SMS Alert पठाउन थालेको छ। स्थानीय सञ्चारमाध्यममार्फत मौसमसम्बन्धी नियमित सूचना तथा सावधानीका उपाय प्रसारण गर्न निर्देशन दिइएको छ। दूरसञ्चार सेवा अवरुद्ध भए तत्काल सञ्चालन गर्न आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।

प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गरेका छन्।

आपत्कालीन अवस्थामा नागरिकले हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ तथा स्वास्थ्य हेल्पलाइन १११५ मा सम्पर्क गर्न सक्नेछन्। नजिकको जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा समेत सम्पर्क गर्न सकिने जनाइएको छ। मौसम पूर्वानुमानसम्बन्धी जानकारीका लागि ११५५ मा डायल गर्न सकिनेछ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नागरिकलाई अन्तिममा आग्रह गरेका छन्, “सावधान रहौँ, सुरक्षित रहौँ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij