ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योगमा योग्य, अनुभवी र सक्षम महाप्रबन्धक नियुक्ती प्रक्रिया भइरहेकै समयमा उद्योगका पूर्वमहाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगको विषयमा विद्यावारिधी (पीएचडी) शिक्षा हासिल गरेको छन् ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सञ्चालनगत चुनौती, सम्भावना तथा दिगोपनाका विषयमा केन्द्रित रहेर उनले विद्यावारिधि हासिल गरेका हुन् । उदयपुर सिमेन्ट उद्योगको विषयमा विद्यावारिधी गर्ने न्यौपाने पहिले भएका छन् ।
सिक्मि प्रोफेसनल युनिभर्सिटी सिक्किम, भारतबाट उनले यस्तो महत्वपूर्ण विद्यावारिधी हासिल गरेका हुन् । सो युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. नसिरुद्दीन मोलाबाट विद्यावारिधी हासिल गरेका थिए ।
उनले आफ्नो विद्यावारिधि अनुसन्धानका लागि “उदयपुर सिमेन्ट उद्योग लिमिटेडका सञ्चालनगत चुनौतीहरू तथा दिगोपनाको विश्लेषण” शीर्षक छनोट गरेर यससम्बन्धि अध्ययन, अनुसन्धान र लेखन कार्य गरिरहेको थिए ।
उदयपुर सिमेन्ट उद्योगसँग आफ्नो व्यावसायिक अनुभव र व्यक्तिगत प्रतिबद्धता जोडिएकाले अनुसन्धानको विषयका रूपमा उक्त उद्योगलाई प्राथमिकता दिएको डा. गोपीकृष्ण न्यौपानेले बताएका छन् ।
उद्योगको महाप्रबन्धकका रूपमा कार्य गरिसकेको अनुभवले आफूलाई उद्योगका सञ्चालनगत वास्तविकता, चुनौती, सम्भावना तथा नेपालको औद्योगिक विकासमा यसको भूमिकालाई नजिकबाट बुझ्ने अवसर दिएको उनको भनाइ छ।

उनका अनुसार अनुसन्धानको प्रमुख उद्देश्य उदयपुर सिमेन्ट उद्योगले सामना गरिरहेका सञ्चालनगत चुनौतीहरूको गहिरो अध्ययन गर्नु, दिगो सञ्चालनका सम्भावित मार्ग पहिचान गर्नु तथा उद्योगको पुनरुत्थान र सुदृढीकरणमा अनुसन्धानमार्फत योगदान पुर्याउनु हो ।
“अनुसन्धान केवल शैक्षिक दस्तावेज वा शोधपत्रमा सीमित रहनु हुँदैन। यसले व्यावहारिक समाधान र सकारात्मक परिवर्तनका लागि मार्गदर्शन गर्न सक्नुपर्छ,” उनले बताएका छन्।
उदयपुर सिमेन्ट उद्योग नेपालको औद्योगिक विकाससँग जोडिएको महत्वपूर्ण प्रतिष्ठान भएकाले यसको सञ्चालन, उत्पादकत्व, व्यवस्थापकीय क्षमता, वित्तीय अवस्था तथा दीर्घकालीन दिगोपनाका विषयमा अध्ययन आवश्यक रहेको उनको धारणा छ।
विद्यावारिधिको यात्रा चुनौतीपूर्ण भए पनि परिवार, साथीभाइ, सहकर्मी, गुरुजन, मार्गदर्शक तथा शुभेच्छुकबाट प्राप्त निरन्तर साथ, सहयोग र हौसलाले आफूलाई थप प्रेरणा मिलेको उनले बताएका छन्।

विद्यावारिधि अध्ययनको यात्राका क्रममा प्राप्त बधाई तथा शुभकामनाप्रति उनले आभार व्यक्त गरेका छन् । आफूलाई शुभकामना दिने सम्पूर्ण महानुभावप्रति धन्यवाद व्यक्त गर्दै उनले प्राप्त हौसला आगामी अनुसन्धान यात्राका लागि प्रेरणाको स्रोत बन्ने बताएका छन् ।
उद्योगसँगको प्रत्यक्ष व्यावसायिक अनुभवलाई अनुसन्धानसँग जोड्दै तयार गरिने यस अध्ययनले उदयपुर सिमेन्ट उद्योगका वर्तमान चुनौती पहिचान गर्नुका साथै दीर्घकालीन रूपमा उद्योगको सञ्चालन र दिगोपनाका सम्भावित उपायबारे अध्ययन गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी यो अनुसन्धानबाट सरकारलाई स्थापित उदयपुर सिमेन्ट उद्योग संचालन गरी गैंडा छाप ओपिसी सिमेन्ट बिक्री गर्न सहयोग पुग्ने मात्र नभई उदयपुरबासी, उदयपुर जिल्लाका ८ वटा पालिका, सरकार एवं निजी क्षेत्रबाट लगानी जुटाइ सुकौरा खानी क्षेत्रमा दैनिक १० हजार टन क्लिंकर उत्पादन गर्न सकिने निश्कर्ष रहेको छ । यसबाट राज्यले प्रतिबर्ष ३ सय करोड राजस्व पाउनेछ ।
यो अनुसन्धानबाट समाजको लागि रोजगारीको अवसर थप हुन सक्ने, स्वरोजगार बढ्ने साथै स्थानीय तहको आर्थिक क्रियाकलाप बढ्ने देखिन्छ।