२०८३ असोज ८ बिहिबार

ताप्लेजुङको दोभान बजारमा लागेको आगलागी नियन्त्रणमा, १० घर जलेर नष्ट

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
570
Shares
ताप्लेजुङको दोभान बजारमा लागेको आगलागी नियन्त्रणमा, १० घर जलेर नष्ट

ताप्लेजुङ । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा बिहीबार दिउँसो लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट १० वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १७ परिवार विस्थापित भएका छन्।

दिउँसो १ः३६ बजेबाट सुरु भएको आगो सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको हो। आगलागीबाट ८ घरधनीका १० वटा घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घरधनी ८ परिवार र डेरामा बस्दै आएका ९ परिवार गरी १७ परिवार विस्थापित भएका छन्।

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङका अनुसार लाक्पाचुङ शेर्पा र भीम लङ्वाका दुई–दुईवटा घर जलेर नष्ट भएका छन्। त्यस्तै चन्द्रप्रसाद पौडेल, याम आङवुहाङ, घनश्याम खरेल, राजु शेर्पा र राजेन्द्र पौडेलका एक–एकवटा घर आगलागीमा परेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आगो थप फैलिन नदिन उद्धार तथा नियन्त्रणका क्रममा केही घर पूर्ण र केही आंशिक रूपमा भत्काउनुपरेको थियो।

आगो नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका थिए। आगलागी नियन्त्रणमा आएपछि पीडित परिवारको अवस्था बुझ्न तथा राहत र उद्धारको कामलाई तीव्रता दिन सुरक्षा निकायका प्रमुखसहितको टोली दोभान बजार पुगेको छ।

तमोर नदी र मैवाखोलाको संगममा रहेको दोभान बजारका अधिकांश घर काठ र जस्तापाताले बनेका छन्। यसअघि २०७७ फागुन १८ गते पनि बजारमा भीषण आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएका थिए।

पछिल्लो आगलागीले बाढी तथा पहिरोको जोखिममा रहेको दोभान बजारमा थप विपद्को अवस्था सिर्जना गरेको छ। आगलागीबाट भएको कुल क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij