२०८३ असोज ८ बिहिबार

पाँच दिनसम्म प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
627
Shares
पाँच दिनसम्म प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह

काठमाडौं । मुलुकका प्रमुख नदी तथा सहायक नदीमा आजदेखि आगामी पाँच दिनसम्म जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै नदी तथा खोलामा बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका बाढीविद् सौहार्द जोशीका अनुसार कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीमा जलसतह बढ्ने सम्भावना छ। केही नदी तथा जलाधारमा आकस्मिक बाढीको जोखिमसमेत रहेको उहाँले बताउनुभयो।

पूर्वानुमानअनुसार कोशी नदी प्रणालीअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा आगामी पाँच दिन जलसतह बढ्न सक्नेछ। त्यस्तै, नारायणी नदी प्रणालीका नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती तथा कालीगण्डकीमा पनि बहाव बढ्ने सम्भावना रहेको छ।

कर्णाली नदी प्रणालीका कर्णाली, भेरी र तिलाका साथै पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा समेत जलसतह बढ्ने महाशाखाले जनाएको छ।

साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम
आज ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढ्ने र केही स्थानमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने सम्भावना छ। ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, भोजपुर, उदयपुरदेखि काठमाडौं उपत्यका, चितवन, कास्की, रुपन्देही हुँदै सुर्खेत, दैलेख, जुम्ला, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुरसम्मका जिल्लामा विशेष सतर्कता अपनाउन भनिएको छ।

महाशाखाका बाढीविद् जोशीले नदी तथा खोलाको तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदीको बहाव तथा मौसमसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij