२०८३ असोज ८ बिहिबार

भारी वर्षाको जोखिमबीच स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
209
Shares
भारी वर्षाको जोखिमबीच स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह

काठमाडौं ।  सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। हाल विभिन्न क्षेत्रमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संस्थालाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो।

निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढ्न सक्ने र त्यसबाट दुर्घटना, चोटपटक तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन सक्ने मन्त्रालयले जनाएको छ। त्यसैले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न भनिएको छ।

त्यस्तै, आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न, बिरामी स्थानान्तरण तथा रेफरल सेवालाई सहज बनाउन र एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय गर्न मन्त्रालयले आग्रह गरेको छ। आवश्यकता अनुसार संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC/PHEOC) सँग समन्वय गरी सेवा प्रवाहलाई निरन्तरता दिनसमेत भनिएको छ।

आवश्यक समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) की सम्पर्क व्यक्ति श्रेया सुवेदीलाई ९८०९४१३८३४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रदेशगत रूपमा पनि निम्न सम्पर्क नम्बरमा समन्वय गर्न सकिनेछ :

  • कोशी प्रदेश: डा. रामहरी रेग्मी — ९८४१३२४२४५

  • मधेश प्रदेश: फुलेन्द्र यादव — ९८११९४२७६०

  • बागमती प्रदेश: दिनेश रुपाखेती — ९८५५०२६८३६

  • गण्डकी प्रदेश: डा. रोशन ढकाल — ९८४९७६२५०१

  • लुम्बिनी प्रदेश: डा. शिशिर गिरी — ९८४१४६५८५३

  • कर्णाली प्रदेश: श्यामलाल आचार्य — ९८५८०४७४७६

  • सुदूरपश्चिम प्रदेश: हेमराज जोशी — ९८४८७२०९९८

थप जानकारी तथा सहयोगका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij