२०८३ असोज ८ बिहिबार

नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा, यस्ता छन् विशेषता

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
304
Shares
नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा, यस्ता छन् विशेषता

काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार जारी गरेको सूचनाअनुसार ‘सिरिज २०२५’ अन्तर्गतको नयाँ नोट साविककै आकारमा तर नयाँ रङ तथा सुरक्षण विशेषतासहित ल्याइएको हो। नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।

नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप र ‘१०००’ अंकित पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शमार्फत नोट पहिचान गर्न सकून् भनेर रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखासमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटमा विभिन्न सुरक्षण विशेषता थप गरिएको छ। नोटलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ। यस्तै, सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो पनि समावेश गरिएको छ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ।

त्यसैगरी, नेपालको सात प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन्। पृष्ठभागमै हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति समेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij