काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। देशका विभिन्न २२ वटा आधिकारिक डिलर लोकेसनबाट एकैसाथ आयोजना गरिएको कार्यक्रममा राइडरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।
काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए। काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो।
राइडका अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ। सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले संस्थाका अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा निर्देशक पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व तथा समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। उनले आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीका अनुसार ‘वान राइड’को मुख्य उद्देश्य देशभर रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर समुदायलाई एउटै मञ्चमा जोड्नु, अनुभव आदानप्रदान गर्नु तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो।
‘प्योर मोटरसाइक्लिङ’को अवधारणाअन्तर्गत आयोजना गरिएको यस कार्यक्रमले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै स्थानीय समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ।
रोयल इन्फिल्ड नेपालले राइडर समुदायलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ। कम्पनीका अनुसार राइडिङ केवल यात्रा नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यम पनि हो।
यही अवधारणालाई अघि बढाउँदै आगामी दिनमा राइडर समुदाय तथा स्थानीय समुदायसँग सहकार्य गर्ने सामाजिक र सामुदायिक गतिविधिलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।