२०८३ भाद्र ३१ बुधबार

पाथीभरामा २४० तोलाभन्दा बढी सुन र २७ किलोभन्दा धेरै चाँदी सङ्कलन

ई आर्थिक    बुधबार, भाद्र ३१ २०८३
133
Shares
पाथीभरामा २४० तोलाभन्दा बढी सुन र २७ किलोभन्दा धेरै चाँदी सङ्कलन

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म २४० तोला ९१ लाल सुन२७ किलो १२८ ग्राम चाँदी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार सङ्कलन भएको सुनमध्ये अधिकांश रिफाइन गरी एकनम्बरको बनाइएको छ । केही सुनका गहना भने पुरानै स्वरूपमा सुरक्षित राखिएको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार हालसम्म सङ्कलन भएको सुन र चाँदी रिफाइन गरी शुद्ध अवस्थामा राखिएको छ । पछिल्लोपटक ११ तोला २४ लाल सुन३ किलो १६६ ग्राम चाँदी रिफाइन गरिएको हो । उक्त सुन र चाँदी गत शुक्रबार र शनिबार रिफाइन गरिएको समितिले जनाएको छ ।

बाँकी अधिकांश सुन तथा चाँदी करिब तीन वर्षअघि नै रिफाइन गरिएको थियो । त्यसबेलादेखि नै नियमअनुसार लिलाम बिक्रीको प्रक्रिया अघि बढाइए पनि केही चाँदीबाहेक हालसम्म सुनचाँदी बिक्री हुन नसकेको समितिले जनाएको छ ।

पछिल्लोपटक रिफाइन गरिएको सुन र चाँदीसमेत लिलाम बिक्रीका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी भइरहेको समितिले जनाएको छ ।

सङ्कलन तथा रिफाइन गरिएको सुनचाँदी सुरक्षा निकायको निगरानीमा सुरक्षित राखिने गरेको छ । समितिका स्टोर प्रमुख इन्द्र पौडेलका अनुसार रिफाइन गरिएको सुनचाँदीको तौल यकिन गरी कपडाको थैलोमा राखेर लाहाछापसहित सिल गरिन्छ ।

पाथीभरा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण यहाँ वर्षेनी ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । भक्तजनले स्वेच्छाले नगदसँगै सुन, चाँदी तथा विभिन्न धातुका गहना र सामग्री चढाउने गर्छन् ।

भक्तजनले चढाएका सुन, चाँदी, नगदलगायत सामग्री पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij