काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ।
कोषमा हाल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको जनाइएको छ। उक्त रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ रहेको छ।
यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
भोटेकोशी नदीमा बाढी आएपछि सरकारले प्रभावित क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो।
सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संघसंस्था तथा निकायबाट सहयोग रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो।