२०८३ भाद्र २४ बुधबार

अमेरिकाले पाँच इरानी तेल ट्यांकर ध्वस्त पारेपछि इरानको जवाफी मिसाइल हमला

ई आर्थिक    बुधबार, भाद्र २४ २०८३
152
Shares
अमेरिकाले पाँच इरानी तेल ट्यांकर ध्वस्त पारेपछि इरानको जवाफी मिसाइल हमला

काठमाडौँ । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले इरानी नौसेनाले अमेरिकी युद्धपोतलाई लक्षित गरी गरेको मिसाइल आक्रमणको जवाफमा पाँचवटा इरानी तेल ट्यांकर ध्वस्त पारेपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार मंगलबार ओमानको खाडीमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजिसी) सँग सम्बन्धित चारवटा कच्चा तेल बोकेका ट्यांकर र खार्ग टापुनजिक अर्को एउटा ट्यांकरमाथि कारबाही गरिएको हो। ती ट्यांकरहरू आईआरजिसी तथा उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने बहु-अर्ब डलरको ‘छायाँ सञ्जाल’को हिस्सा रहेको सेन्टकमको दाबी छ।

सेन्टकमका अनुसार इरानले दुई दिनभित्र दुईपटक अमेरिकी नौसेनाका युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाउने प्रयास गरेपछि ट्यांकरमाथि कारबाही गरिएको हो। आक्रमणअघि ट्यांकरका चालक दललाई जहाज छाड्न निर्देशन दिइएको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी कारबाहीपछि इरानले जोर्डनस्थित अल-अज्राक अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। जोर्डनको सेनाका अनुसार इरानबाट प्रहार भएका २० मध्ये १८ वटा मिसाइल आकाशमै नष्ट गरिएको थियो भने दुईवटा मानिसको बसोबास नभएको क्षेत्रमा खसेका थिए। घटनामा कुनै हताहती नभएको जोर्डनले जनाएको छ।

इरानले अमेरिकी नौसेनाका दुई युद्धपोतलाई समेत निशाना बनाएको दाबी गरेको छ। यद्यपि, अमेरिकी सेनाले ती आक्रमणबाट आफ्ना युद्धपोतमा क्षति पुगेको पुष्टि गरेको छैन। यसअघि पनि इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरेपछि अमेरिकाले इरानी तेल ट्यांकरमाथि कारबाही गरेको थियो।

हर्मुज जलमार्ग फेरि तनावको केन्द्र

अमेरिका–इरानबीचको पछिल्लो टकरावले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्गलाई पुनः युद्धको केन्द्रमा ल्याएको छ। विश्व बजारमा ठूलो परिमाणमा तेल आपूर्ति हुने यो जलमार्गमा पानीजहाजको आवागमन प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र आपूर्तिमा दबाब बढ्ने जोखिम देखिएको छ।

यसैबीच, इरानले हर्मुज जलमार्गमा अमेरिकी मानवरहित पानीमुनि सञ्चालन हुने उपकरण नियन्त्रणमा लिएको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डले भने उक्त पानीमुनिको ड्रोन पुरानो तथा खराब भएको र त्यसमा संवेदनशील सूचना वा गोप्य उपकरण नरहेको जनाएको छ।

अमेरिका र इरानबीच पछिल्ला दिनमा समुद्री आक्रमण–प्रत्याक्रमण तीव्र हुँदै गएको छ। अमेरिकाले इरानी तेल निर्यातमा दबाब बढाउन उसका बन्दरगाहमा नाकाबन्दी र थप आर्थिक प्रतिबन्धको नीति अघि बढाएको छ भने इरानले हर्मुज जलमार्गमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको छ।

पछिल्लो घटनाक्रमले मध्यपूर्वमा जारी द्वन्द्व थप विस्तार हुन सक्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij