काठमाडौं । धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको जनजीवनमा देखिन थालेको छ। राजधानीमा खाना पकाउने ग्यासको अभाव चुलिँदै जाँदा उपभोक्ता ग्यासका लागि चोक–चोकमा लाइन बस्न बाध्य भएका छन्।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग प्रभावित भएको हो। त्यसैमाथि धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानीमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ।
राजमार्ग अवरुद्ध भएको आठ दिन बितिसक्दा पनि सहज आपूर्ति हुन नसकेपछि ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको अभावको असर बजारमा देखिन थालेको छ। विशेषगरी ग्यासको खोजीमा उपभोक्ता बिहानैदेखि विभिन्न बिक्री केन्द्र तथा डिपोमा पुग्ने गरेका छन्।

काठमाडौंका विभिन्न चोक तथा बस्तीमा ग्यासका सिलिन्डर बोकेर उपभोक्ता लाइनमा बसेका दृश्य देखिन थालेका छन्। कतिपय स्थानमा ग्यास आउने जानकारी पाएपछि लामो लाइन लाग्ने गरे पनि पर्याप्त परिमाणमा ग्यास नपाउँदा उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था रहेको छ।
यातायातको मुख्य नाका लामो समय अवरुद्ध हुँदा काठमाडौंमा भित्रिने दैनिक उपभोग्य वस्तुको आपूर्ति शृंखला नै प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट सामग्री ल्याउनुपर्ने बाध्यता रहेकाले ढुवानीमा समय र लागत दुवै बढेको छ।
यसको असर घरायसी उपभोक्तादेखि होटल तथा रेस्टुरेन्ट व्यवसायसम्म परेको छ। खाना पकाउने ग्यासको नियमित आपूर्ति नहुँदा सर्वसाधारणलाई दैनिक गुजारा चलाउनसमेत कठिन हुन थालेको छ।

पृथ्वी राजमार्ग काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख स्थलमार्ग भएकाले यसको अवरोधले राजधानीको आपूर्ति प्रणालीमै दबाब सिर्जना गरेको हो। सडक खुलाउन तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तत्काल पहल गर्नुपर्ने माग उपभोक्ताले गरेका छन्।
अहिले काठमाडौंका धेरै चोकमा देखिने ग्यासका सिलिन्डर बोकेका लाम देख्दा बाढी र पहिरोको असर सडकमा मात्र होइन, राजधानीको भान्सासम्म पुगेको प्रस्ट देखिन्छ।
