२०८३ भाद्र २२ सोमबार

भारी वर्षाले जापानको रेल सेवा प्रभावित हुन सक्ने, यात्रुलाई सतर्क रहन आग्रह

ई आर्थिक    आइतबार, भाद्र २१ २०८३
912
Shares
भारी वर्षाले जापानको रेल सेवा प्रभावित हुन सक्ने, यात्रुलाई सतर्क रहन आग्रह

टोकियो । जापान सरकारले टोकियो र आसपासका क्षेत्रमा आइतबार दिन ढल्दै जाँदा भारी वर्षाको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार आइतबार रातिदेखि सोमबार दिउँसोसम्म टोकियो, सैतामा, कानागावा र चिबा प्रान्तमा रेखीय वर्षा ब्यान्ड बन्न सक्ने सम्भावना छ। यस्तो वर्षा ब्यान्ड बनेमा छोटो समयमा अत्यधिक वर्षा हुन सक्ने भएकाले बाढी तथा पहिरोजस्ता जोखिम बढ्न सक्ने एजेन्सीले जनाएको छ।

एजेन्सीले आइतबार बिहान १०ः५२ बजे भारी वर्षासम्बन्धी सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। स्थानीय प्रशासनले जारी गर्ने जोखिम नक्सा, निकासीस्थल तथा सुरक्षित निकासी मार्गबारे जानकारी लिनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पूर्वी जापान रेलवे कम्पनी (जेआर ईस्ट) ले आइतबार रातिदेखि सोमबारसम्म रेल सेवा प्रभावित हुन सक्ने जनाएको छ। कम्पनीका अनुसार केही रेल ढिलो चल्न सक्ने वा केही सेवा अस्थायी रूपमा रद्द हुन सक्ने भएकाले यात्रुलाई मौसम र रेल सेवासम्बन्धी पछिल्लो सूचना हेर्न आग्रह गरिएको छ।

जेएमएका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको २४ घण्टामा टोकाई क्षेत्रमा ३०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ।

त्यस्तै, टोकियोसहित दक्षिणी कान्टो क्षेत्रमा २५० मिलिमिटर, किन्की क्षेत्रमा २०० मिलिमिटर तथा उत्तरी कान्टो, कोशिन, शिकोकु र दक्षिणी क्युशु क्षेत्रमा १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

एजेन्सीले रेखीय वर्षा ब्यान्ड बनेमा स्थानीय रूपमा पूर्वानुमानभन्दा पनि बढी भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। त्यसैले प्रभावित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी पछिल्लो सूचना निरन्तर निगरानी गर्न र जोखिम देखिएमा समयमै सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij