२०८३ भाद्र १९ शुक्रबार

त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास तीव्र, सुरुङको मुखबाट २० हजार घनमिटर लेदो–कंक्रिट हटाइयो

ई आर्थिक    बिहिबार, भाद्र १८ २०८३
475
Shares
त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास तीव्र, सुरुङको मुखबाट २० हजार घनमिटर लेदो–कंक्रिट हटाइयो

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको मुख क्षेत्रमा जम्मा भएको लेदो, बालुवा, ढुंगा तथा कंक्रिट हटाउने काम तीव्र पारिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले उद्धार प्रयासबारे पछिल्लो अवस्थाको जानकारी दिँदै भदौ १३ गतेदेखि सुरुङको मुख क्षेत्रमा नियमित रूपमा दुई वटा डोजर परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा ठूला ढुंगा हटाइएको बताएका छन्।

उद्धारका क्रममा सुरुङको निकास क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गरी हटाइएको छ। आवश्यकताअनुसार ढुंगा फुटाउने उपकरण प्रयोग गर्नुका साथै नियन्त्रित रूपमा विस्फोट गराउने काम चौबीसै घण्टा भइरहेको सांसद न्यौपानेले बताएका छन्।

हाल सुरुङको मुखको माथिल्लो भागदेखि करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो क्षेत्र सफा गरिएको छ। सुरुङको उचाइ ५.५ मिटर रहेको र बाँकी करिब ३ मिटर गहिराइको पहुँचमार्ग तथा पानी निकास निर्माण सम्पन्न भएपछि मात्रै सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने जनाइएको छ।

सुरुङभित्र गरिएको प्रारम्भिक अवलोकनका क्रममा आँखाले देख्न सकिने करिब एक मिटरको भाग पूरै लेदोले भरिएको पाइएको छ। सुरुङबाट अहिले करिब दुई लिटर प्रतिसेकेन्डको दरले दबाबबिनै पानी बाहिर निस्किरहेको छ। यसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको संकेत गर्ने सांसद न्यौपानेको भनाइ छ।

सुरुङको बाहिरी भागमा ढोकाको स्ल्याब, काठका दुई ठूला ठुटा तथा ठूला ढुंगा अवरोधका रूपमा रहेको पाइएको छ। उक्त अवस्थाका आधारमा सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि सुरुङभित्रको वास्तविक अवस्था भने अझै यकिन भइसकेको छैन।

१६० मिटर लामो केबल डक्ट सुरुङमध्ये करिब ६० मिटरको दूरीमा एउटा घुम्ती रहेको छ। विद्युत् गृहसम्मको सुरुङ उकालो दिशामा रहेकाले सुरुङको भित्री भाग तुलनात्मक रूपमा सुरक्षित र सामान्य अवस्थामा रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सांसद न्यौपानेले बताएका छन्।

उद्धार कार्यका लागि घटनास्थलमा आवश्यक उपकरण तथा मेसिन परिचालन गरिएको छ। तर घटनास्थलसम्म सडक पहुँच नभई हेलिकप्टरमार्फत मात्र पुग्न सकिने भएकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री ढुवानीमा केही समय लाग्ने अवस्था रहेको जनाइएको छ।

यसका बाबजुद उद्धार तथा सुरुङ सफाइको काम निरन्तर सञ्चालन भइरहेको सांसद न्यौपानेले बताएका छन्। सुरुङभित्र फसेकाहरूको वास्तविक अवस्था पत्ता लगाउन र सुरक्षित रूपमा उद्धार गर्न पहुँचमार्ग निर्माण तथा लेदो हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij