२०८३ भाद्र १७ बुधबार

भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३३५ शव देवघाट जंगलमा गाडियो, १२ जनाको सनाखत

ई आर्थिक    बुधबार, भाद्र १७ २०८३
133
Shares
भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३३५ शव देवघाट जंगलमा गाडियो, १२ जनाको सनाखत

चितवन : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका सनाखत हुन नसकेका ३३५ शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाट जंगलमा मंगलबार रातिसम्म ती शवलाई खाडल खनेर जमिनमुनि व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३४८ वटा शव फेला परेका छन् । तीमध्ये १२ जनाको सनाखत भएको छ भने बाँकी शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ।

शव व्यवस्थापनमा कठिनाइ भएपछि प्रहरीले डिएनए नमुना संकलन गरी शनिबारदेखि देवघाट जंगलमा खाडल खनेर शव व्यवस्थापन गर्न थालेको हो। पहिलो दिन शनिबार ९६ वटा शव व्यवस्थापन गरिएको थियो ।

त्यसपछि आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

व्यवस्थापन गरिएका शवमध्ये लिङ्ग पहिचान हुन नसकेका १२९, पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलका अनुसार सबै शवको डिएनए नमुना सुरक्षित राखेर जंगलमा व्यवस्थापन गरिएको छ । सनाखत भएका शव भने पोस्टमार्टमपछि परिवारजनले बुझेर लगेका छन् ।

केही शव आफन्तले पहिचान गरे पनि जंगलमा व्यवस्थापन गरिसकिएका कारण शव लैजान नपाएको गुनासो गरेका छन् । आफन्तहरूले शव पहिचानका लागि आवश्यक डिएनए परीक्षणका लागि नमुना दिन थालेका छन् ।

यसैबीच, चितवनका नदी तथा नदी किनारमा शव फेला पर्ने क्रम अझै रोकिएको छैन। शव खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

प्रहरीका अनुसार सोमबार मात्रै चितवनमा थप ४९ वटा शव फेला परेका थिए । हालसम्म फेला परेका ३४८ शवमध्ये १२ जनाको मात्र सनाखत भएको छ ।

हाल भरतपुर अस्पतालमा एक शव रहेको छ। सनाखत भएका १२ जनामध्ये ११ पुरुष र एक बालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij